मेलम्ची परियोजना अनिश्चित, काम छोडेर भाग्न लागेको ठेकेदार पक्राउ

दियो पोस्ट  

काठमाडौँ, पुष २ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन निर्माण कम्पनी सिएमसी टाट पल्टिन लागेपछि यसका आठ कर्मचारीलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ ।

परियोजनाका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई आइतबार राति ठमेलबाट पक्राउ गरिएको हो । महानगरिय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले आइतबार राति साढे १० बजे ठमेलको रोयल पेङ्गुइन होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अुनसार उनीहरु कतार एयरमार्फत साढे ११ बजेको टिकट गरी उनीहरु सरकारलाई जानकारी नदिई भाग्न खोजेका थिए । क्रिसमस मनाउन जाने बहानामा खानेपानी परियोजनालाई अलपत्र पारि सुटुक्क भाग्न खोज्दा प्रहरी फन्दामा परेका हुन् ।

पक्राउ परेका आठै जनालाई प्रहरीले खानेपानी मन्त्रालयमा बुझाएको छ । उनीहरुको पासपोर्ट समेत जफत गरिएको स्रोतले बताएको छ । मन्त्रालयले सोधपुछ गर्दा उनीहरु कम्पनी डुबेपछि देश फर्किन लागेको बताएका थिए ।

दुईदिन अघिसम्म कम्पनीले काम गरिरहेको जानकारी दिएको मेलम्ची खानेपानी समितिले बताएको छ । समितिका अनुसार मेलम्चीको सुरूङ ढलान एक किलोमिटर बाँकी छ। कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ। इन्टेकको काम पनि पूरा भएको छैन। हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन।

यी सबै काम सम्पन्न गर्न झण्डै चैत सम्म लाग्ने खानेपानी मन्त्रालयका एक अधिकारीले बताए। मुख्य ठेकेदारनै भागेपछि अव मेलम्चीको योजना फेरि अनिश्चित भएको छ। धेरै वर्षदेखि ढिला हुँदै आएको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले दसैंअघि नै काठमाडौंमा पानी झार्ने प्रतिवद्धता जनाएको थियो।