काठमाडौँ, पुष २ । कञ्चनपुर भिमदत्तकी निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा भएको लापरवाहीको छानविन गर्न बनेको समितिले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको छ ।
घटनाको प्रमाण नष्ट गर्ने देखि लिएर गलत अभियुक्त खडा गर्नेसम्मका सम्पुर्ण त्रूटिहरुमाथि छानविन गर्नका लागि प्रहरी अतिरिक्त महानिरिक्षक ( एआईजी ) धीरु बस्नेतको संयोजकत्वमा गठित छानविन समितीले आइजीपि खनाललाइ प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा अनुसन्धानमा लापरवाही गर्ने र अपराधीलाई बचाउ गर्दै प्रमाण मेट्ने अधिकारीहरुलाई विभागिय कारवाहीको सिफारिस समेत गरिएको छ । प्रहरी प्रधान कार्यलयबाट पाएको कार्यादेश अनुसार एआइजी बस्न्यातको समितिले अनुसन्धानमा लापरावाही गर्ने प्रहरी अधिकारीहरुलाइ कारवाही सिफारिस गरेको हो ।
साउन १० गते वेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट विहान उखुबारीमा भेटिएको थियो । शुरुवाती अनुसन्धानदेखि नै प्रमाण नष्ट गर्दै आएको प्रहरीले घटनामा संलग्न नभएकाहरुलाई मुख्य अभियुक्त बनाएर प्रस्तुत गरेको थियो । कञ्चनपुरका तात्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टले मानसिक सन्तुलन गुमाएका भनिएको ४२ बर्षिय स्थानिय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । डिएनए परिक्षणबाट निर्दोष ठहरिएका दिलिपसिंह २४ दिनसम्म यातना खपेर हिरासतमा बसेका थिए ।
तत्पश्चात गठन भएको उक्त समितिले सोमबार प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनपछि निर्मला पन्तको घटनाका केही तथ्यहरु समेत बाहिर आउन सक्ने बताइएको छ । हाल प्रहरीले कञ्चनपुरकै तीनजना युवाको डिएनए परिक्षण गरेको छ जसको रिपोर्ट केही दिनमा आउने प्रहरीले जनाएको छ ।