तेल तस्करको आक्रमणबाट ४ प्रहरी घाइते, प्रहरीको साथबाट थ्रीनटथ्री राइफल खोसियो

दियो पोस्ट  

वीरगञ्ज, पुष ३ । पर्साको जगरनाथ गाउँपालिका १ पाडेपुरमा तेल तस्करी गर्ने गिरोहले प्रहरीमाथि आक्रमण गरेका छन् । नेपालबाट भारतमा डिजेल, पेट्रोल तस्करी गर्ने गिरोहले मंगलबार प्रहरीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट चारजना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेहरुमा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव , प्रहरी हवल्दार प्रेम थापा , प्रहरी जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका प्रहरी सहायक निरीक्षक जय किशुन महत्तो रहेका छन् ।

ती मध्ये प्रहरी जवान अर्जुन चौधरीको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपालको तुलनामा भारतमा तेलजन्य पदार्थको मूल्य बढी भएका कारण सीमावर्ती जिल्ला पर्साबाट तेल ढुवानी गरेर सिमामा लगेर बेच्ने गर्दथे । मंगलबार विहान ३ बजेतिर दुईवटा मोटरसाइकलमा आएका समुहलाई प्रहरीले सुरक्षा जाँचको लागि रोकेपछि उनिहरु प्रहरीमाथि जाइलागेका हुन् । तस्करहरुले प्रहरीको साथमा रहेको थ्रीनटथ्री राइफल समेत खोसेर लगेका छन् ।

घटनाको खबर पाउनासाथ पर्सा जिल्ला प्रहरी कार्यलय वीरगंजबाट प्रहरी टोली घटनास्थल पुगेका थिए । सो टोलीले प्रहरीबाट खोसिएको राइफल भने नजिकैको खेतमा भेटिएको छ । समुहमा नेपाली र भारतिय तस्करहरु सम्मिलित थिए । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।