विधान अनुमोदन गर्न कांग्रेसलाई सकस, पौडेल पक्षको यस्तो प्रस्ताव

diyopost.com
Diyo post  बिहिबार, पौष ०५, २०७५ | १५:२८:१०

काठमाडौँ, पुष ५ । नेपाली कांग्रेसभित्र पार्टीको विधानलाई लिएर चर्को वहस र वादविवाद शुरु भएपछि महासमिति वैठक अनिश्चित बन्दै गइरहेको छ । आज टुंगिने भनिएको वैठक पार्टीको विधान मस्यौदा समितिले ल्याएको विधानमा सहमती जुट्न नसकेपछि लम्बिएको छ ।
समितिले छलफलको लागि ल्याएको विधानसम्वन्धमा पार्टी केन्द्रिय समितिमा नै सहमति नजुटेपछि महासमिति वैठकमा छलफल हुन सकेको छैन । विधानमा पार्टीको केन्द्रिय तहमा कतिजना हुने , त्यसको टुंगो कसरी लगाउने भन्ने विषयमा विवाद भएको हो । मंसिर २९ गतेबाट पुष ३ गतेसम्मको लागि भनिएको वैठक सहमती नजुटेपछि नटुगिंएको हो । काठमाडौँको रामशाहपथस्ति यलम्बर पार्टी प्यालेसमा गरिएको वैठकलाई स्थान परिवर्तन गर्दै पार्टी कार्यलय सानेपा सारिएको छ ।

वैठकमा रामचन्द्र पौडेलसमुहले आगामी वर्षको फागुनसम्म पार्टीको महाधिवेशन गर्नेगरि अर्को प्रस्ताव ल्याएका छन् । उनले अघि सारेका प्रस्तावमा कार्यतालिका सहित ०७६ साल फागुनसम्म महाधिवेशन गर्नुपर्ने उल्लेख गरिएको छ । नेपाली कांग्रेस यतिखेर इतिहासकै कठिन मोडमा रहेको जनाउँदै पौडेलले महासमितिको बैठकपश्चात् पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका छन्। अभियानमा कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्ने उल्लेख गरिएको छ।


नेता पौडेलले प्रस्ताव गरेको कार्यतालिकाः

–२०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउने।

–२०७६ आश्विन मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नविकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने।

–२०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा/गाउँपालिका, नगर/उपमहानगर/महानगरपालिका अधिवेसन सम्पन्न गर्ने।

–२०७६ पौष मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र/प्रतिनिधिसभा निर्वाचन क्षेत्र/जिल्ला अधिवेशन सम्पन्न गर्ने।

–२०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने।

–२०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने।

–२०७६ चैत्रबाट २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने।

–२०७७ चैत्र मसान्तसम्म जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गर्ने।

–२०७८ बैसाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने।

सम्बन्धित खबर