कांग्रेस महासमितिमा निराशा, बैठक छोडेर हिँड्न थाले सदस्यहरु (फोटोफिचर)

दियो पोस्ट  

टि‍ पी शर्मा

काठमाडौं, ५ पुस । कांग्रेस महासमिति सुरु भएको सात दिन हुँदासम्म विधान नै प्रस्तुत हुन नसकेपछि महासमिति सदस्यहरुमा निराशा छाएको छ । ६ दिनसम्म पुतलीसडकस्थित यलम्बर पार्टी प्यालेसमा बसेको महासमिति बैठक बिहीबारबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सारिएको थियो ।

तर, बिहीबार बिहान केन्द्रीय समितिको बैठकमा विधानको विषय टुंग्याएर महासमितिको बन्द सत्र गर्ने भनिए पनि पदाधिकारीको विषयमा कुरा मिल्न सकेन । महासमितिको बन्दसत्र आज बिहानैदेखि सुरु हुन सकेको छैन । झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि रहे पनि सातदिनसम्म मुख्य प्रस्ताव नै नआएपछि सदस्यहरु घर हिँडन थालेका छन् ।

मंगलबार ८ पदाधिकारी बनाउने र कोषाध्यक्षको मात्रै निर्वाचन गर्ने सहमति भएको थियो । तर, बुधबार बिहानबाटै जातीय प्रतिनिधित्व पदाधिकारीमा हुनुपर्ने भन्दै केन्द्रीय समितिमा माग भएपछि अघिल्लो दिनको सहमति पेचिलो मात्रै बनेन । महासमिति बैठक नै अन्यौलपूर्ण बनेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बैठक सारिए पनि नेताहरुले सहमति नगरेपछि बन्दसत्रमा स्थलमा निरन्तर कुर्सी खाली हुँदै गएका छन् । ‘रौनक नै हराउँदै गइसक्यो अब ढिलाई भयो भन्दै सदस्यहरु हिँड्न थालिसके’ काभ्रेबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य प्रमिला योन्जनले भनिन्, ‘अब नेताहरुले सहमति गरेर छिटो निकास निकालिदिए हुने ।’

प्रवक्ता विश्वप्रकाश शर्माले अब शीर्ष नेताहरुबीच सहमति हुने र यो सहमतिलाई अनुमोदन गरी केन्द्रीय समितिले विधान छाप्न प्रेसमा पठाउँने जानकारी दिए । तर, समावेशी आधारमा कति पदाधिकारी बढाउँने भन्ने कुरा मिलिसकेको छैन । ६ अन्य पदाधिकारी र सातवटा प्रदेश हेर्नेगरी समावेशी आधारमा ७ सहमहामन्त्री गरी १३ पदाधिकारी बनाउन सभापति शेरबहादुर देउवा पक्षले माग प्रस्ताव गरे पनि नेता पौडेल र सिटौला समूहले सहमति दिइसकेको छैन ।

TATA ADD