काठमाडौं, पुस ८ । फुटबल करियर सुरु भएदेखि अर्जेन्टिनाका स्टार लियोनल मेसीले आफूलाई पछाडि फर्केर हेर्नुपरेको छैन । उनी पछिल्ला १२ वर्षयता गोल मेसिनको रुपमा परिचित रहँदै आएका छन् । पछिल्ला १० वर्षमध्ये मेसीले एउटा बाहेक ९ वर्षमा प्रतिवर्ष ५० भन्दा माथि गोल गरेका छन् ।
गएराती सेल्टाभिगोविरुद्ध गोल गर्दै मेसीले २०१८ मा पनि आफ्नो गोलसँख्या ५१ पुर्याए । गएराती मेसीले खेलको ४५ औं मिनेटमा भिगोविरुद्ध निक्कै सशक्त गोल गर्न पुगे । सबैभन्दा बढी गोल गरेर युरोपका प्रमुख लिगमा मेसीले पाँचपटक गोल्डेन बुट पाइसकेका छन् । २०१८ मा पनि मेसीले रोनाल्डोलाई ७ गोलले पछाडि छोडेका छन् । रोनाल्डोको अब दुई खेल खेल्न बाँकी छ । मेसीको यो वर्षलाई खेल्ने खेल सकिएको छ । तर, रोनाल्डोले दुई खेलमा सात गोल गर्न नसक्दा मेसी नै यो वर्षका सर्वाधिक गोलकर्तामा दरिनेछन् ।
यस्तो छ मेसीको यो वर्षको रेकर्ड
मेसीले यो वर्ष ५४ खेल खेल्दा कूल ५१ गोल गर्न सफल भए । जसमा क्लबका लागि ४९ खेलमा ४७ गोल र देशका लागि पाँच खेलमा चार गोल गर्न सफल भए । मेसी गोल मात्र गर्दैनन् गोलका लागि पास सिर्जना गर्नमा अगाडि छन् । उनले यो वर्ष क्लबको लागि खेलिएको ४९ खेलमा २३ वटा गोलका लागि पास मिलाइदिएका छन् । देशका लागि पाँच खेल खेल्दा तीनवटा गोलका लागि पास मिलाइदिएका छन् ।
मेसीले ४३३ खेलमा बार्सिलोनाको लागि मात्र ३९८ गोल गरिसकेका छन् । अब दुई गोल गर्दा मेसीले चार सय गोल पुर्याउने पहिलो खेलाडी बन्नेछन् । फुटबल करियरको ६८९ खेलमा मेसीले ५८४ गोल गरेका छन् । अर्जेन्टिनाका लागि १२८ खेलमा मेसीले ६५ गोल गरेका छन् ।