काठमाडौँ, पुष ९ । हिउँदे बिदाको एक महिने अवधिलाई सदुपयोग गर्दै पाटन संयुक्त क्याम्पसको विद्यार्थी संगठन ‘अनेरास्ववियु’ले विद्यार्थी लक्षित विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । निशुल्क रुपमा संचालन हुने उक्त कार्यक्रममा ट्युसन कक्षा, लोक सेवा तयारी कक्षा, नृत्य प्रशिक्षण, प्रतिवेदन लेखन तथा नेप्से सम्वन्धी कक्षाहरु संचालन गर्न लागिएको अनेरास्ववियुका नेता संजिव कार्कीले बताए ।
पुष १५ देखि माघ १५ सम्म चल्ने उक्त कार्यक्रममा पठनपाठन संगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सामेल गराउने उद्धेश्यले नृत्य प्रशिक्षणको व्यवस्था गरिएको अनेरास्ववियुका अर्का विद्यार्थी नेता मदन मगरले दियोपोस्टसंग बताए । यस कार्यक्रममा सम्पुर्ण संकायका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् ।
त्यस्तै विशेष गरि बिबिएसका विद्यार्थीहरुलाई लक्षित गरि ट्यूसन कक्षाहरु संचालन गर्न लागिएको छ । विशेषगरि बिबिए र विविएस चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि प्रतिवेदन लेखन तालिम संगै व्यवसायिक योजनासंग सम्वन्धित कार्यक्रमहरुसमेत ल्याइएको विद्यार्थी नेता युनिक खनालले बताए । उनले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पुँजी बजारको बारेमा सामान्य ज्ञान पनि नभएकोले त्यससंग सम्वन्धित कार्यक्रमहरु पनि अनेरास्ववियुले गर्न लागेको जानकारी गराएका छन् ।
पहिले पहिलेका वर्षहरुमा भन्दा राम्रो ढंगले कार्यक्रम संचालन गर्ने र विद्यार्थीहरुले त्यसबाट केही न केही सिक्न सकोस भनेर यस बर्ष कार्यक्रमलाई अझ प्रभावकारी बनाइने अनेरास्ववियु पाटन संयुक्त क्याम्पसका विद्यार्थी नेताहरुले बताएका छन् ।