काठमाडौं, १० पुस । विराटनगर श्रम कार्यालयका प्रमुखका रुपमा कार्यरत रहेका प्रेम प्रसाद सञ्जेललाई २ महिना नबित्दै सरुवाको पुर्जी थमाइएपछि उनले सोमबार पत्रकार सम्मेलन गरेर सरकारकै चर्को चालोचना गरे ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको मातहत रहेका सञ्जेल यतिबेला निकै चर्चामा छन् । खासगरी उनले मातहतका निकायबाट आफूलाई गरिएको अन्यायको चर्को श्वरमा पत्रकार सम्मेलन मार्फत आवाज उठाएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी समर्थन भइरहेको छ ।
उनलाई सरुवा गर्ने प्रमुख पात्र हुन् श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल । यसअघि खेलकुद मन्त्रालयका सचिव रहेका दाहाल त्यहाँ विवादित बनेपछि श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका थिए ।
उनै दाहालले व्यक्तिगत प्रतिशोधको आधारमा सञ्जेललाई सरुवा गरेको पाइएको छ । युवा तथा खेलकुद मन्त्रालयमा रहँदा उनी उनलाई तत्कालिन मन्त्री दलजीत श्रीपालीले हटाउन चाहेका थिए । तर, राजनीतिक पहुँचका माहिर ‘माहिर खेलाडी’ रहेका उनी तत्कालिन एमाले निकट नेताहरुलाई मिलाएर मन्त्रीलाई दबाव दिएका थिए ।
सरकारी कर्मचारी भएपनि भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेका सञ्जेलले गत मंसिर १९ गते सचिव दाहाललाई सम्बोधन गर्दै एउटा पत्र लेखेका थिए । जसमा उनले ‘नक्कली भिसा पत्ता लगाईदिन र श्रम स्वीकृती अस्वीकार भएको व्यक्तिको देशै भरीको रेकर्ड राख्न’ माग गरेका थिए ।
उनले पत्रमा सरकारी कर्मचारीमा भ्रष्टाचार व्यप्त रहेको अख्तियारले २ महिनाको अवधिमा श्रम मन्त्रालय मातहतका १ दर्जन कर्मचारीलाई पक्राउ गरी मुद्दा दायर गरेको उल्लेख गरेका थिए । भ्रष्ट कर्मचारीकै कारण १८० जना महिला गैरकानुनी बाटोबाट विदेश पठाइएको र उनीहरुको अवस्था नाजुक रहेको उल्लेख गरेका थिए ।
काठमाडौं बाहिर मोफसलका जिल्लाबाट पनि श्रम स्विकृति दिने व्यवस्था अनुसार विराट नगर कार्यालयमा पनि सेवाग्राहीको भिड लगेको र काठमाडौंबाट श्रम स्विकृति अस्विकार भएका व्यक्तिले देशका अन्य ठाउँबाट श्रम स्विकृति लिन सक्ने भएकाले त्यसलाई रोक्न स्पष्ट रेकर्डको व्यवस्था माग गरेका थिए ।
सोही पत्र पाएपछि उनले भनेअनुसारको रेकर्ड राख्नुको सट्टा सचिव दाहालले ‘बढी जान्ने’ भएको भन्दै प्रतिशोध लिएको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले दिएको छ ।
पत्रकार सम्मेलनका क्रममा सञ्जेलले सचिव दाहालको कटाक्ष गरेका थिए ।
यो पनि पढ्नुहोस्