काठमाडौं, ९ पुस । सरकारी कर्मचारीले सरकार वा प्रधानमन्त्रीको ठाडै विरोध गरेको संभवत सुनिएको थिएन । तर, एक कर्मचारीले प्रधानमन्त्री केपी ओली, श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र विष्ट मातहतकै सचिव महेश प्रसाद दाहालले आफ्नो सरुवा गरेको भन्दै पत्रकार सम्मेलन गरेर ठाडो चुनौती दिएका छन् ।
विराटनगर स्थित श्रम कार्यालयका अधिकृत उपसचिव प्रेम प्रसाद सन्जेलले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा सञ्जेलले प्रधानमन्त्री ओली, मन्त्री विष्ट र सचिव दाहालले आफूलाई अन्याय गरेको भन्दै त्यसको विरुद्ध लड्ने बताए ।
‘मेरो घरमा साइकल छैन । मेरो असिस्टेन्टको कार कहाँबाट आयो ? केपी ओलीले किन्देको हो ? गोकर्ण विष्टले किन्देको हो ? मेरो सचिव महेश दाहालले किन्देको हो ? अनि मलाई सरुवा गरेको हो ?,’ प्रश्न बर्षाउँदै उनले भनेका छन्,‘त्यसको थाहा चाहियो मलाई ? त्यो सम्पति कहाँबाट आयो त्यसलाई मुद्दा चलाए थाहा भइहाल्छ ।’
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले तपाईंलाई अनुसन्धानको कारबाही गरे के गर्नु हुन्छ भन्ने प्रश्नमा उनले भनेका छन्,‘म अनुशासनको होइन । ज्युज्यानकै कारबाही भोग्न तयार छु । फाँसीमा चढ्न तयार छु । नेपाल विग्रनुमा सबैभन्दा ठूलो हात कर्मचारीको छ ।’
प्रेस विज्ञप्तिमा उनले आफूलाई सरकारले ३ महिना नपुग्दै सरुवा गरिएको जानकारी गराएका छन् ।
आफूले ३ महिनाको अवधिमा १ करोड ५० लाख ठगी गर्ने गिरोहलाई कारबाही गरेको लगायत आफ्ना काम समेत सुनाएका छन् ।
भिडियाे हेर्नुहाेस्