
काठमाडौँ, मंसिर १५ । प्रतिनिधि सभा तर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन् । आइतबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार भट्टराईले २४ हजार तीन सय ९५ मत सहित विजयी भएकी हुन् ।
मतगणनाको शुरु देखि नै निकै फराकिलो अन्तरले अग्रता लिएकी भट्टराईले आफ्ना निकटतम प्रतिद्वन्दी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ९ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएकी हुन् । पौडेलले १५ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ मत प्राप्त गरेका छन् । वैकल्पिक शक्ति निर्माण गर्ने होडमा रहेको साझा पार्टीले कास्कीमा नराम्रो पराजय भोगेको छ । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ भोट मात्र प्राप्त गरेकी छिन् ।

तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की–२ मा उपनिर्वाचनमार्फत सांसद चयन गरिएको हो । रविन्द्रकी पत्नि समेत रहेकी विद्याले यसअघिको निर्वाचनमा रविन्द्रले प्राप्त गरेको मत भन्दा केही कम मत ल्याएकी छिन् । तात्कालिन समयमा रविन्द्र अधिकारीले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरकिा थिए ।
विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।