
काठमाडौँ, मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै भण्डारीले दिवसले अपाङ्गता क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भनी कामना गरिन । राष्ट्रपति भण्डारीले नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य दिएको सन्दर्भमा फरक क्षमता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन अपाङ्गमैत्री संरचना क्रमशः निर्माण गर्दै जानुपर्ने खाँचो औँल्याईन । उनले समतामूलक समाज निर्माणका लागि फरक क्षमता भएका व्यक्तिलाई शिक्षा र स्वास्थ्यमा पहँुच दिलाउनुपर्नेमा जोड दिईन ।
राष्ट्रपति भण्डारीले नेपालमा फरकक्षमता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका साथै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्नका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानुपर्ने बताईन ।
‘फरक क्षमता भएका व्यक्तिलाई राज्यका रहेक निकायमा सहभागिताका निम्ति स्रोत र साधनको आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजान सकेमा समतामूलक समाज निर्माण गर्न सकिने विश्वास मैले लिएकी छु । फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनीले शुभकामना सन्देशमा भनेकी छिन् ।