काठमाडौँ, मंसिर १४ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप दुई स्वर्ण थपेको छ । बुधबार भएको डाउनहिल साइक्लिङको पुरुष र महिला दुबै तर्फ नेपालले स्वर्ण जितेको हो ।
गोकर्णेश्वर स्थित सहिद पार्कमा भएको खेलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठठले स्वर्ण जितेका हुन् । १ किलोमिटरको डाउनहिल साइक्लिङमा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीहरु सहभागी थिए ।
राजेशले १ किमिको दुरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गरे । पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत र प्राचित थापाले कास्य जिते ।
निरभले १ मिनेट ५०.०८० सेकेण्डको समय निकाल्दा प्राचित १ मिनेट ५१.६६१ सेकेण्डको समय निकाले । निश्माले २ मिनेट २२।४५१ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् ।
महिलातर्फ नेपालकी जमुना थापाले २ मिनेट ४१.५५१ सेकेण्डको समयसहित रजत जितिन् । भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७.२३८ सेकेण्डको समयसहित कास्य जितिन् ।
योसंगै नेपालले सागमा २७ स्वर्ण जितेको छ । नेपाललाई पछ्याइरहेको भारतले २४ स्वर्ण पुर्याएको छ ।