साग क्रिकेटः ज्ञानेन्द्रको शतकसँगै भुटानमाथि नेपालको शानदार जित

दियो पोस्ट  

काठमाडौँ, मंसिर १९ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हाँसिल गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस हारेर शुरुवाती ब्याटिङ गरेको नेपालले तीन विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो । विशाल योगफल तयारका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । उनले ५५ बलमा ९ छक्का र ५ चौकाको सहायताले १ सय ७ रन बनाए ।

त्यस्तै पुर्व कप्तान पारस खड्काले अर्धशतकीय पारि खेल्दै ५७ रन बनाए । २८ बल खेलेका पारसले १ छक्का र ९ चौका प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए । रोहित कुमार पौडेल र आरिफ शेखले क्रमश ६ र ४ रनमात्र बनाए ।

बलिङमा भुटानका कर्मा दोर्जीले दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले १ विकेट लिए ।

भुटानका लागि रङजुङ्ग मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै, सोनम तोब्गेले १५ र तोब्देन सिङ्ग्येले ११ रन बनाए ।

बलिङतर्फ नेपालका लागि पारस खड्काले दुई विकेट लिए भने करण केसी, ललित राजवंशी र पवन शर्राफले एक–एक विकेट लिए ।