काठमाडौँ, मंसिर १९ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण जितेको छ । पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङमा नेपालका बुद्धी बहादुर तामाङले स्वर्ण जितेका हुन् ।
गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहिबार भएको प्रतियोगितामा नेपालका वुद्धि बहादुर तामाङले ४ किलोमिटरको चार ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।
यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् । राजिबले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकाले ।
महिलातर्फ नेपालकै लक्ष्मी मगरले स्वर्ण जित्दा उषा खनालले रजत जितेकी थिइन् ।
वुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ ।