
काठमाडौँ, मंसिर २१ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालको स्वर्ण सम्भावना सकिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल वंगलादेशसँग ४४ रनले पराजित भएपछि स्वर्ण सम्भावन समाप्त भएको हो ।
बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पारस खड्का ९ र रोहितकुमार पौडेल ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३र३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् ।
बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २र२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान नजमोल होसन सान्तोले सर्वाधिक ७५ रन बनाए । उनले ६० बलमा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै अफिफ हुसेनले २८ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रनको योगदान गरे । यशिर अलिले १४ रन लिँदा मोहम्मद नेम र शौम्य सरकार ६÷६ रन लिएर पवेलियन फर्के ।
बलिङतर्फ नेपाली क्रिकेट टिमका पुर्वकप्तान रहेका पारस खड्काले सर्वाधिक ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरिले २ विकेट लिँदा अभिनास बोहराले एक विकेट लिए ।