प्रहरीमाथि राजनीतिक दलको ‘बिल्ला’, ‘नेकपा प्रहरी’ नारा लगाउँदै नेविसंघको प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २३ । कोहलपुर घटनालाई लिएर प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघ जिल्ला समिति काठमाडौँको आयोजना र पशुपती क्याम्पस इकाई समितिको संयोजनमा आयोजना गरिएको आन्दोलनमा प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा समेत माग गरिएको छ ।

कोहलपुरमा विद्यार्थीमाथि प्रहरीले गरेको दमनको चर्को विरोध गर्दै नेविसंघले काठमाडौँमा समेत प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा नेपाल प्रहरीलाई समेत राजनीतिक बिल्ला भिराएका थिए । उनिहरुले प्रहरी नेपाली जनताको नभई सत्तारुढ दल नेकपाको रहेको भन्दै नाराबाजी गरेका थिए । ‘नेकपा प्रहरीको ज्यादती बिरुद्ध वृहत प्रदर्शनी’ लेखिएको ब्यानर सहित नेविसंघ नाराबाजीमा उत्रिएका हुन् ।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । र्यालीलाई सम्वोधन गर्दै नेविसंघका नेता मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएका विद्यार्थीहरुलाई सरकारले निशुल्क उपचार गर्नुपर्ने र विद्यालय पोशाकमा भएका विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताए ।

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज(कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका थिए । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका थिए । कोहलपुर अशान्त भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ । चन्दलाई ठक्कर दिने ट्रकलाई प्रदर्शनकारीले घटनास्थलमै जलाइदिएका थिए ।