काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो पटक स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८।१३ सेकेण्डको समय निकालिन् ।
भारतकी शिवांगी शर्माले रजत जितिन् ।
योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् ।
यसअघि १७ वर्षीय ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।
यस्तै गौरिकाले साग खेलकुदको इतिहासमा नेपालका लागि सर्वाधिक ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेकी छिन् ।
गौरिकाको स्वर्णसंगै नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।