
काठमाडौँ, मंसिर २४ । दशरथ रंगशालामा परिसरका प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल र भुटानबिच हुन लागेको साग फुटबल फाइनलेको टिकटको विषयमा विवाद हुँदा प्रहरीले लाठी चार्ज गरेको हो ।
फुटबल फाइनलको टिकट सोमबार नै सक्किएको थियो । मंगलबार विहान टिकट खोज्दै केही युवाहरु होहल्ला गर्दै रंगशाला आएका थिए । उनिहरुले होहल्ला गर्दै धकेलाधकेलको स्थिति सिर्जना भएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिनको लागि बल प्रयोग गरेका थिए ।
प्रहरीले भीडलाई नियन्त्रणमा लिनका लागि लाठी चार्ज गरेको महानगरिय प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले बताए । प्रहरीले लाठी चार्ज गर्दै गरेको फोटो खिचिरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँ समेत घाइते भएका छन् ।
यसअघि सोमबार राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भएका थिए।
फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरूमा भन्दा राखेपले कम टिकट विक्रीमा राखेको थियो।
त्यस्तै, राखेपले टिकटदर दोब्बर पार्दै भिआइपी प्याराफिटका लागि २ हजार र सर्वसाधारण बस्ने प्याराफिटतर्फ १ हजार कायम गरेको थियो।
राखेपका अनुसार फुटबल फाइनलसँगै समापन समारोह हुने भएका कारण टिकटदर वृद्धि गरिएको हो। राखेपले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ।
समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सम्बोधन गर्ने भएका छन्।