७–८ दिनदेखि बन्द रहेको कोठाभित्र आमाछोरीको मृत शरिर

दियोपोस्ट संवाददाता

पर्सा, मंसिर २४ । पर्साको बीरगंज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा आमाछोरीको शव फेला परेको छ । भाडामा बस्दै आएका अञ्दाजी २२–२३ बर्षीया महिला र उनकी एक–डेढ बर्षीया छोरीको शव फेला परेको हो ।

करिब ७–८ दिनदेखि बन्द रहेको कोठबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई सम्पर्क गरेको थियो । सोमबार प्रहरीले ढोका फोरेर हेर्दा भित्र एक महिला र बालिकाको शव कुहिन लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

बाहिरबाट ताला लगाएको कारण घरबेटीले पनि त्यति वास्ता नगरेको र दुर्गन्ध आउन थालेपछि मात्र शंकास्पद गतिविधि भएको हुनसक्ने भन्दै प्रहरीलाई सम्पर्क गरेका थिए । उक्त कोठामा महिलाको श्रीमान पनि बस्ने गरेतापनि श्रीमान भने सम्पर्कमा नभएको बताइएको छ ।

श्रीमान् ले नै आफ्नी श्रीमती र छोरीको हत्या गरि फरार भएको हुनसक्ने भन्दै प्रहरीले उनको खोजी गर्न थालेको छ ।