साग फुटबल फाइनलः पहिलो हाफ बराबरीमा सकियो

दियो पोस्ट  

काठमाडौँ, २४ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार दिउँसो ३ बजेबाट शुरु भएको खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको हो ।

खेलको १७ औँ मिनेटमा नेपालका अभिशेक रिजालले पहिलो गोल गरि नेपाललाई १–० को अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्क ढंगले चलेको खेलको ३७ औँ मिनेटमा भुटानी टोलीका कप्तान चेन्चो ग्याल्चेनले गोल गरेसँगै खेल बराबरीको अवस्थामा आइपुगेको थियो ।

नेपाल र भुटान दुवैले गोलका लागि सुनौलो अवसरहरु गुमाएका थिए । खेलको १९ औँ मिनेटमा नेपालले निकै नै राम्रो अवसर गुमाएको थियो । भुटानले ३४ औँ मिनेटमा पाएको सुनौलो अवसर पनि गोलमा परिणत हुन सकेन । नेपालका लागि गोलकिपर विकेश कुथु ले निकै नै आक्रमक बलहरुलाई समेत छेकेर भुटानलाई रोकेका छन् ।

जारि सागको अन्तिम खेलका रुपमा फुटबललाई हेरिएको छ । फुटबलमा विजयी हुँदै नेपाल ५० स्वर्ण पुर्याउने होडमा रहेको छ भने फुटबल बाटै पहिलो स्वर्ण जित्ने उद्धेश्यसहित भुटान मैदानमा रहेको छ ।