काठमाडौँ, मंसिर २४ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको उपाधी नेपालले जितेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा भुटानलाई २–१ ले पराजित गर्दै नेपाल विजयी भएको हो ।
विजयी सँगै फुटबलमा पनि नेपालले स्वर्ण जितेको छ ।
नेपालको जितका लागि अभिशेक रिजाल र सुनिल बलले एक–एक गोल गरेका हुन् । अभिशेकले १७ औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका थिए । खेलको पहिलो हाफ अगाडी नेपाल १–१ को बराबरीमा रहेको थियो । ३७ औँ मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्जेनले गोल गर्दै बराबरी बनाएका थिए ।
दोस्रो हाफमा भुटान निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो । नेपालले पनि निकै बलियो रक्षापंक्ति बनाएको थियो । खेलको ५४ औँ मिनेटमा सुनिल बलले उत्कृष्ठ गोल गर्दै नेपाललाई २–१ को अग्रतामा पुर्याएका थिए । सुनिलले गरेको सोही गोल नै निर्णायक गोल ठहरिन पुगेको छ ।
खेलअवधीभर भुटानले थुप्रै प्रयास गरेपनि गोल गर्न भने चुकेको छ । नेपालका गोलकिपर विकेश कुथुले फाइनल खेलमा निकै उत्कृष्ठ प्रदर्शन गरे । उनले निकै खतरापुर्ण बलहरुलाई गोलबाट जोगाएका थिए ।
जितसँगै नेपालले स्वर्णको संख्या ५१ पुर्याएको छ ।