प्रधानमन्त्रीको भिडियो सन्देशः सागमा पदक विजेता खेलाडीलाई बालुवाटारमा निम्तो

प्रधानमन्त्रीको भिडियो सन्देशः सागमा पदक विजेता खेलाडीलाई बालुवाटारमा निम्तो

काठमाडौँ, मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको बताएका छन् । सागको समापनको अवसरमा मंगलबार बेलुका भिडियोमार्फत सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको १३ औँ साग सफल र ऐतिहासिक रहेको बताएका हुन् ।

सागलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले तीन स्थानबाट खेल संचालन गर्नु र समग्र सागको सफल समापनमा आइपुग्नु अत्यन्त खुशीको कुरा रहेको बताएका छन् । यसपालीको सागमा तुलानत्मक हिसावले पदकको संख्या पनि बढी भएको र नेपालले पनि पहिलेको तुलनामा ऐतिहासिक सफलता हाँसिल गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई पनि सागले महत्वपुर्ण योगदान गरेको बताएका छन् । उनले सागमा पदक जित्ने सम्पुर्ण देशका खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालको तर्फबाट पदक जित्ने सबै खेलाडीलाई बुधबार बालुवाटार उपस्थित हुनका लागि निम्तो दिएका छन् । सो अवसरमा सरकारले खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने बताइएको छ । सागमा नेपालले ५१ स्वर्ण पदक जितेको छ ।

Trending News