काठमाडौँ, मंसिर २६ । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुने भएको छ । बिहीबार मन्त्रीपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा संचारप्रविधि मन्त्री गोकुल बास्कोटाले माघ ९ मा राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन् ।
उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सरकारले मिति घोषणा गरेको हो ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।
गाउँपालिका अध्यक्ष÷ उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् ।