काठमाडौँ, मंसिर २९ । सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना हँदा १४ जनाको मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर फर्किँदै गरेको बा २ ख ४४६८ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकको पाँच किलोबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा १२ जनाले घटनास्थलमै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । बाँकी दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।
सडकबाट पाँच सय मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्नेबारे खुलिसकेको छैन । दुर्घटनामा धेरै यात्रुहरु घाइते भएको र उनिहरुलाई उपचारको लागि विभिन्न अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।