पोखरा प्रिमियर लिगको उद्घाटन खेलः पोखराद्धारा काठमाडौँ ९ विकेटले पराजित

दियो पोस्ट  

काठमाडौँ, मंसिर २९ । पोखरा प्रिमियर लिग अन्तर्गतको उद्घाटन खेलमा पोखरा पल्टनले पहिलो जित दर्ता गरेको छ । पोखराले काठमाडौँ गोल्डेन वारियर्समाथि ९ विकेटको सानदार जित निकाल्दै विजययात्रा थालनी गरेको हो । काठमाडौँ गोल्डेनले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४ ओभर १ बलमा एक विकेट गुमाउँदै भेट्टाएको हो ।

आइतबार पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँ गोल्डेनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । काठमाडौँका लागि सुवोथ भाटीले सर्वाधिक ४५ रन बनाए । २९ बल खेलेका सुवोथले ४ चौका र ४ छक्का प्रहार गरे । राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल एक रनमै पवेलियन फर्के । टिमका लागि गौरव तोमारले १३ रन बनाए भने सुशन भारीले १० रन बनाए । अन्य खेलाडीहरुले निकै नै कमजोर ब्याटिङ गरे ।

बलिङतर्फ पोखराका कुशल मल्ल, ललित नारायण राजबंशी र रसिद खानले समान दुईदुई विकेट लिए भने प्रथमेश डेक र सर्वजित लद्दाले एकएक विकेट लिए ।

दोस्रो ब्याटिङमा आएको पोखराका लागि कुशल भुर्तेलले निकै नै आक्रमक खेल खेले । व्यक्तिगत ६२ रन बनाएका कुशलले ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । भुर्तेलसँग अर्का ब्याट्सम्यान रवि इन्दर सिंहले निकै नै राम्रो साझेदारी निभाएका थिए । रवि इन्दरले व्यक्तिग ३८ रन बनाए । ओपनिङमा आएका आसिफ शेख १४ रन बनाउँदै पवेलियन फर्किएपछि रवि इन्दर मैदान आएका थिए ।