नुवाकोट कांग्रेसमा पहिरो, तरुण दलका नेतासहित सक्रिय कार्यकर्ता नेकपामा प्रवेश

दियो पोस्ट  

रामहरि गजुरेल


नुवाकोट, २९ मंसिर । नेपाली काँग्रस पार्टीमा रहेर लामो समयदेखि सक्रिय राजनीति गरिरहेका नुवाकोटका उर्जाशील युवाहरु काँग्रेसको राजनीतिबाट जनताको हित र मुलुकको समृद्धि सम्भव नभएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उद्यम, व्यवसाय तथा सामाजिक सेवाको क्षेत्रमा अब्बल मानिएका विदुर नगरपालिकाका तीन युवाहरु शुक्रवार नेकपामा प्रवेश गरेका हुन् ।


युवाहरुको नेकपामा आगमन भएसँगै नुवाकोट काँग्रेसलाई ठुलै धक्का पुगेको विश्लेषण गरिएको छ । नेपाली काँग्रेस परित्याग गरी आउनेहरुमा तरुण दल नुवाकोटका जिल्ला सदस्य तथा सफल व्यवसायी युवा गोकर्ण रोक्का, काँग्रेसका सक्रिय युवा तथा सहकारी एवं शैक्षिक अभियन्ता, सफल व्यवसायी र होटेल याङ्ग्राका सञ्चालक सुदिप श्रेष्ठ र अर्का युवा राजकुमार नगरकोटी रहेका छन् ।

नेकपाका नेता, कार्यकर्ता एवं जनप्रतिनिधिहरुको ठुलो सहभागिताका बीच विदुरस्थित जिल्ला पार्टी कार्यालयमा नवप्रवेशी युवाहरुलाई पार्टीमा स्वागत गर्दै नेकपाका ३ नं. प्रदेश सचिवालय सदस्य तथा पुर्व सांसद राजेन्द्र प्रकाश लोहनी, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, सभासद् गोविन्द नेपाली, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले पार्टीमा प्रवेश गराएका हुन् ।


नेपालका काँग्रेसको भविष्य नरहेको र उसले बोकेको बिचारबाट समाजको उन्नति नहुने देखेपछि आफुहरु नेपाल कमयुनिष्ट पार्टीमा प्रवेश गरेको युवा सुदिप श्रेष्ठले बताए । ‘परिवर्तनलाई आत्मसाथ गरेर हामी जनताको पक्षमा गम्भिरताका साथ उभिने पार्टी नेकपा नै भएको निष्कर्षसहित काँग्रेसलाई त्यागेर आएका हौँ’, श्रेष्ठले भने–‘समाजको रुपान्तरणका निम्ति नयाँ सोचसहित नयाँ र फरक काम गर्ने प्रण पनि गरेका छौँ ।’


युवाहरुलाई पार्टीमा स्वागत गर्दै पुर्वसांसद तथा नेकपाका नेता लोहनीले जनताको हितमा नेकपा पार्टी र यसकै नेतृत्वको सरकार नै एकमात्र विकल्प रहेको विचार व्यक्त गर्दै यसबाहेक अरु राजनीतिक पार्टीले मुलुकको परिवर्तन तथा विकासको चाहनालाई पुरा गर्न नसक्ने ठोकुवा गरे ।

‘विगतमा काँग्रेस लगायतका राजनीतिक नेतृत्वकै कारण देश अस्तवयस्त हुनपुग्यो । सामाजीक, आर्थिक र राजनीतिक ति सबै संरचनाको सुधार र वयवस्थापनमा अहिले नेकपा सरकारलाई एकैपटक भार बोक्नुपर्ने जिम्मेवारी र दायित्व छ’, उनले स्पष्ट पार्दै भने–‘यही कारण जनताले हामीसँग अपेक्षा गरेका आकाँक्षाहरु तत्काल पुरा नभएपनि अब त्यो छिट्टै पुरा गर्ने दिशामा सरकार दृढताका साथ लागिपरेको छ । यो अवस्थालाई आत्मसाथ गरेरै युवाहरुको नेकपामा आर्षण बढिरहेको सत्य हो ।’


सांसद तथा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आफ्नो पार्टी नेकपाले बोकेको सही विचार र राजनीतिक बाटोकै कारण युवाहरु लामवद्ध हुने अभियान अझ शसक्त भएर अघि बढेको दाबी गरे ।

‘विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक बन्दै गइरहेको अवस्थामा नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी हुनुमा हामीले लिएको सही विचार नै हो’, सांसद खतिवडाले भने–‘नेपाली मौलिकतामा विकास भएको जनताको जनवाद जनताको पक्षमा रहेकोले नेकपाको यही बैज्ञानिक विचारलाई उन्नत बनाउँदै त्यसको विकास र रक्षा गर्दै जाने हाम्रो माक्र्सवादी सिद्धान्तलाई युवाहरुले द¥िहलोसँग आत्मसाथ गर्न आग्रह गर्दछु ।’ आर्थिक रुपमा समृद्ध र राजनीतिक रुपमा मजबुत एकता नै नेपालको सुनौलो भविष्यसँग जोडिएकोले पार्टीमा आवद्ध युवाहरुलाई आत्मनिर्भर र उद्यमी बन्नेतर्फ अग्रसर हुन खतिवडाले जोड दिए ।

‘तपाईंहरुको दक्षता र क्षमता हामीले धेरै देखेका छौँ’, नवप्रवेशी युवाहरुलाई विश्वस्त पार्दै अध्यक्ष तथा सांसद भन्नुभयो–‘तपाईंहरुलाई त्यही अनुसारको अवसर र जिम्मेवारी पार्टीले दिनेछ । तपाईंहरुजस्तै अरुपनि सयौँ युवाहरु पार्टीभित्र लामबद्ध हुने तयारीमा हुनुहुन्छ ।’


सभासद् तथा नेकपाका नेता गोविन्द नेपालीले इतिहासमै नेकपा सरकार जनताको भावना र मुद्धा बोकेर अघि बढिरहेको बताए । ‘समृद्ध देश बनाउने अभियानमा हाम्रो पार्टी प्रतिवद्ध मात्रै छैन, राष्ट्रियता र राष्ट्रिय स्वाधिनता बचाउन बोकेको संकल्प इतिहासमै गर्व गर्न लायक छ’, नेता नेपालीले भने–‘नेकपा र यसको नेतृत्वको सरकारले देखाएको इमान्दारिता र अठोटकै कारण सक्षम र दक्ष युवाहरुको आकर्षण नेकपामा बढिरहेको मुख्य कारण हो ।’


विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले परिवर्तनका संवाहक युवाहरु नै भएकोले देशको राजनीतिको मुख्य पहरेदारी युवाहरुको हातमा रहेको बताइन् । राष्ट्र निर्माणका मुद्धाहरु नेकपा नेतृत्वको सरकारसहित प्रदेश र स्थानिय तहसहित तीनवटै सरकारले समृद्ध देश बनाउन गरिरहेको अथक मेहनतले नै मुलुक अब नयाा युगमा लम्किएको धारण राखिन् । ‘नयाँ सोच, अपेक्षा र चाहना बोकेर नेकपाको महा अभियानमा सामेल हुने नवप्रवेशी युवाहरुको उचित सम्बोधन र मुल्यांकल हुनेछ’, उनले पार्टीको प्रतिवद्धता व्यक्त गर्दै भनिन्–‘तपाईंहरुजस्तै हजारौँ युवाहरुको साथ र बल नेकपालाई आवश्यक छ ।’


सोही अवसरमा नेकपाका नेता बुद्धी प्रधानले काँग्रेसमा राष्ट्रियता र परिवर्तनका मुद्धाहरुको सवालमा निरन्तर बिचलनहरु बढ्दै गएर जनताबाट स्खलित भएकै कारण इमान्दार कार्यकर्ताहरुले क्रमशः साथ दिन छोडेको बताए । ‘यहीँ देशमै बसेर केही गर्नुपर्छ भन्ने नयाँ जोश, जाँगर बोकर उद्यम गरिरहेका हुनुहुन्छ’, उनले भने–‘अन्य युवाहरुलाई समेत नयाँ प्रेरणा दिएर यहीँ केही गर्न सकिन्छ भन्ने वातावरण निर्माण गर्ने गतिलो सन्देश दिनुभएको छ ।