पीपीएलः विराटनगरलाई ५ रनले हराउँदै धनगढी विजयी

दियो पोस्ट  

पोखरा, मंसिर ३० । नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढी ५ रनले विजयी भएको छ । धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय १२ रन मात्र बनाएपछि धनगढी विजयी भएको हो ।

बिराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए । २२ बल खेलको राजुले २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सुनिल धमलाले २१ बल खेल्दै १ चौका र १ छक्काको मद्धतबाट १८ रन बनाउँदै पवेलियन फर्र्किए । कप्तान प्रदीप ऐरि भने १० रन बनाउँदै आउट भए भने पुनित मेहराले १५ रन बनाए ।

निकै नै आक्रमक बलिङ गरेको धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरि, अमित यादव र सागर ढकालले समान दुईदुई विकेट लिए भने अनिल खरेल कमल सिंह ऐरिले एकएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको एक्पर्ट धनगढीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । एक्सपर्ट धनगढीका लागि कमल सिंह ऐरिले सर्वाधिक २६ रन बनाए । ऐरीले नवौं २१ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्का विष्फोटक ब्याटसम्यान श्रीमंथ विजेरत्ने २५ रन बनाएर आउट भए। उनलाई पुनित मेहेराले आउट गराए।

धनगढीका ओपनर सन्दीप सुनार ३ रन बनाएर खेलिरहँदा किशोर महतोको बलमा जितेन्द्र मुखियाको हातबाट क्याच हुन् पुगेका थिए। यस्तै ओपनिङमा आएका रोड्रिगो थोमस १६ रन बनाएर पवेलियन फर्किए। उनलाई नोमान खानले मुहम्मद आलमको हात बाट क्याच आउट गराएका थिए।

सन्दीप जोरा १४ बलमा ७ रन बनाउदै आउट हुन् पुगे। उनि साहब आलमको शिकार बने। १५ बलमा ११ रन बनाएर खेलिरहेका मन्जित श्रेष्ठ मुहम्मद जेड आलमको शिकार बन्न पुगे। १८ बलमा १२ रन बनाएर क्रीजमा जमेर खेलिरहेका सौरभ खनाल नोमान यादवले आउट गराए ।

बलिङतर्फ बिराटनगरका साहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै नोमान खानले २५ रन खर्चेर २ विकेट लिए । किशोर महतो,मुहम्मद जेद आलम र पुनित मेहेराले समान १÷१ विकेट लिए ।