काठमाडौँ, पुष १ । पोखरा प्रिमियर लिगको मंगलबार भएको खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७ रन बनाएको हो ।
पोखराका लागि कप्तान शरद भेष्वाकरले सर्वाधिक ४५ रन बनाए । उनले ३९ बलमा ३ चौका ३ छक्का प्रहार गरे । शुरुवातमा निकै दबावमा खेलेको पोखराका लागि कुनैपनि ब्याट्सम्यानले उत्कृष्ठ प्रदर्शन गर्न सकेनन् । यसअघिको खेलमा निकै उत्कृष्ठ ब्याटिङ खेलेका कुशल भुर्तेल आजको खेलमा ५ रनमै आउट भए । उनलाई चितवनका शन्नी पटेलले एलबिडब्लु आउट गराएका हुन् ।
त्यसै गरि अर्का ब्याट्सम्यान आशिफ शेख १५ बल खेलेर १० रन बनाउँदै पवेलियन फर्किए । उनलाई पवेलियन फर्काउन चितवनका बिक्रम शवको बलिङमा शनी पटेलले क्याच गरेका थिए । पोखराका लागी निकै आशा गरिएका ब्याट्सम्यान रवि इन्दर सिंहले पनि आजको खेलमा टिक्न सकेनन् । २३ बल खेलेका उनले १ चौकाको मद्धतबाट १० रनको योगदान मात्र गर्न सके । उनलाई चितवनका कप्तान पारस खड्काले बोल्ड गरेका थिए ।
रविइन्दरको पतन पछि मैदान प्रवेश गरेका विनोद भण्डारीले पहिलो बलमा नै चौका प्रहार गरे । शुरुवातमै आक्रमक देखिएका विनोद पनि धेरै बेरसम्म मैदानमा टिक्न सकेनन् । ८ बलमा ७ रन बनाएका विनोद चितवनका भुवन कार्कीको बलमा रोहन मुस्ताफाले क्याच आउट गरेका हुन् । त्यसपछि आएका कुशल मल्लले पनि निकै आक्रमक ब्याटिङको थालनी गरेका थिए । १२ बलमा उनले २ छक्का प्रहार गर्दै १३ रन बनाएर पवेलियन फर्किए । उनलाई करण केसीले बोल्ड गरेका थिए । त्यसपछि आएका रोहित कुमार पौडेल पहिलो बलमै आउट भए । त्यस्तै रशिद खानले १० रन सम्म बनाउन भ्याए । खेलमा कप्तान शरद भेष्वाकर निकै समयसम्म टिकिरहे । उनलाई रोहन मुस्ताफाले आउट गरेका हुन् ।
चितवनका लागि शनी पटेल, रोहन मुस्ताफा र भुवन कार्कीले दुईदुई विकेट लिए भने पारस खड्का, करण केसी र विक्रम सबले एकएक विकेट लिए । प्रतियोगितमा पोखरा र चिवनको खेललाई निकै प्रतिस्पर्धात्मक खेलको रुपमा लिईन्छ । दुबै टिममा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु धेरै रहेका छन् । अघिल्लो संस्करणमा पनि चितवन र पोखराले फाइनल खेल खेलेको थियो ।