पोखरा प्रिमियर लिगः चितवनका बबर हायात चम्कँदा पोखरा ६ विकेटले पराजित

दियो पोस्ट  

काठमाडौँ, पुष १ । पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिगमा चितवन राइनोजले विजयी शूरुवात गरेको छ । मंगलबार पोखरा पल्टनबिरुद्ध ६ विकेटको जित निकाल्दै चितवनले प्रतियोगितमा सुखद शुरुवात गरेको हो । पोखराले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४ ओभर ५ बल खेल्दै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

चितवनको जितमा बबर हायातको विस्फोटक ब्याटिङ नै मुख्य कारण रहन गयो । हायात क्रिजमा निकै टिकेर खेले । ४२ बल खेलेका बबरले ६ चौका र ४ छक्का प्रहार गरि ६६ रन बनाउदै अविजित रहे । चितवनको तर्फबाट रोहन मुस्ताफा र अनिल साह ओपनिङ ब्याटिङको लागि मैदान उत्रेका थिए । अनिल शुन्य रनमै पवेलियन फर्केपछि बबर हायात मैदान प्रवेश गरेका थिए ।

अर्का ओपनर रोहन मुस्ताफाले ११ रन मात्र बनाउन सफल भए । मुस्ताफा र साह दुबैलाई राशिद खानको बलिङमा विनोद भण्डारीले क्याच आउट गरेका थिए । त्यसपछि मैदान प्रवेश गरेका कप्तान पारस खड्काले पनि सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । ७ बल खेलेका पारस ४ रन बनाउँदै सर्वजित लद्दाको बलिङमा आसिफ शेखद्धारा क्याचआउट भए । त्यसपछि आएका आरिफ शेखलाई पनि लद्दाले नै पवेलियन फर्काए । आरिफले १ रन मात्र बनाउन सके ।

आरिफको विकेट पछि आएका शनि पटेलले बबर हायात संग निकै उत्कृष्ठ पारि खेले । शनि र बबरको साझेदारीले नै चितवनलाई सहज जित दिलाएको हो । शनिले ब्यक्तिगत १ चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए ।

बलिङतर्फ पोखराका रासिद खान र सर्वजित लद्दाले दुईदुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान शरद भेष्वाकरले सर्वाधिक ४५ रन बनाए । उनले ३९ बलमा ३ चौका ३ छक्का प्रहार गरे । शुरुवातमा निकै दबावमा खेलेको पोखराका लागि कुनैपनि ब्याट्सम्यानले उत्कृष्ठ प्रदर्शन गर्न सकेनन् । यसअघिको खेलमा निकै उत्कृष्ठ ब्याटिङ खेलेका कुशल भुर्तेल आजको खेलमा ५ रनमै आउट भए । उनलाई चितवनका शन्नी पटेलले एलबिडब्लु आउट गराएका हुन् ।

त्यसै गरि अर्का ब्याट्सम्यान आशिफ शेख १५ बल खेलेर १० रन बनाउँदै पवेलियन फर्किए । उनलाई पवेलियन फर्काउन चितवनका बिक्रम शवको बलिङमा शनी पटेलले क्याच गरेका थिए । पोखराका लागी निकै आशा गरिएका ब्याट्सम्यान रवि इन्दर सिंहले पनि आजको खेलमा टिक्न सकेनन् । २३ बल खेलेका उनले १ चौकाको मद्धतबाट १० रनको योगदान मात्र गर्न सके । उनलाई चितवनका कप्तान पारस खड्काले बोल्ड गरेका थिए ।

रविइन्दरको पतन पछि मैदान प्रवेश गरेका विनोद भण्डारीले पहिलो बलमा नै चौका प्रहार गरे । शुरुवातमै आक्रमक देखिएका विनोद पनि धेरै बेरसम्म मैदानमा टिक्न सकेनन् । ८ बलमा ७ रन बनाएका विनोद चितवनका भुवन कार्कीको बलमा रोहन मुस्ताफाले क्याच आउट गरेका हुन् । त्यसपछि आएका कुशल मल्लले पनि निकै आक्रमक ब्याटिङको थालनी गरेका थिए । १२ बलमा उनले २ छक्का प्रहार गर्दै १३ रन बनाएर पवेलियन फर्किए । उनलाई करण केसीले बोल्ड गरेका थिए । त्यसपछि आएका रोहित कुमार पौडेल पहिलो बलमै आउट भए । त्यस्तै रशिद खानले १० रन सम्म बनाउन भ्याए । खेलमा कप्तान शरद भेष्वाकर निकै समयसम्म टिकिरहे । उनलाई रोहन मुस्ताफाले आउट गरेका हुन् ।

चितवनका लागि शनी पटेल, रोहन मुस्ताफा र भुवन कार्कीले दुईदुई विकेट लिए भने पारस खड्का, करण केसी र विक्रम सबले एकएक विकेट लिए ।