पोखरा प्रिमियर लिगः ज्ञानेन्द्र मल्लको शतकमा धनगढी १०६ रनले पराजित

दियो पोस्ट  

काठमाडौँ, पुष २ । पोखरा प्रिमियर लिगको बुधबार भएको खेलमा काठमाडौँ गोल्डेन वारियर्स विशाल रनको अन्तरले विजयी भएको छ । पोखरा रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढी बिरुद्ध काठमाडौँ १ सय ६ रनको विशाल अन्तरले विजयी भएको हो ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौँ गोल्डेन वारियर्सले दिएको १ सय ८६ रनको विशाल लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा धनगढीले १६ ओभरमा अल आउट हुँदै ७९ रनमात्र बनाउन सकेपछि काठमाडौँ विजयी भएको हो ।

काठमाडौँलाई पछ्याउने क्रममा धनगढीका रोड्रीगो थोमसले १० तथा श्रीमंथा विजयरत्नेले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

धनगढीलाई सस्तोमा समेट्न काठमाडौँका देब्रे हाते स्पिनर बसन्त रेग्मीले सर्वाधिक ३ विकेट तथा सुबोध भाटी र पवन सर्राफले समान २र२ विकेट लिए। अमृत भट्टराई र सुशन भारिले १÷१ विकेट लिए

यस अघि पहिलो ब्याटिङ गरेको काठमाडौँले १७ ओभरमा ५ विकेट गुमाएर १८५ रनको योगफल तयार गरेको थियो।

काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा १०० रन बनाए। उनले मात्र ३८ बलमा ८ चौका र ९ छक्का प्रहार गरे। यस्तै जयकिशन कोल्सावालाले ४६ तथा अमित श्रेष्ठले ३४ रन बनाए।

काठमाडौँका ओपनर गौरभ तोमर खाता नखोली पहिलो ओभरमा कमल सिंह ऐरीबाट आउट भएपछि दोश्रो विकेटको लागि जयकिशन कोल्सावाला र अमित श्रेष्ठले ५० रनको साझेदारी गरेका थिए। अमित सातौँ ओभरमा आउट भएपछि तेश्रो विकेटको लागि कोल्सावाला र ज्ञानेन्द्र मल्ल बीच ९।४ ओभरमा १३१ रनको साझेदारी भएको थियो।

१७ औं ओभरमा कोल्सावाला , मल्ल र सुबोध भाटी गरि कमलले ३ विकेट लिएका थिए।

धनगढीको बलिंगमा कमल सिंह ऐरीले ४ विकेट लिने क्रममा ४ ओभरमा ३७ रन खर्चिए। सागर ढकालले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ज्ञानेन्द्र मल्ल चुनिए।

सिफारिस