समुदाय–प्रहरी साझेदारी कार्यक्रमः चिसोबाट बाँच्न जनकपुरमा दाउरा वितरण

दियो पोस्ट  

जनकपुरधाम, पुष ३ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले जनकपुरको विभिन्न स्थानमा दाउरा वितरण गरेको छ । जिल्ला प्रहरी कार्यलय धनुषाको आयोजनामा जनकपुर महानगरपालिका–७ मा रहेको श्री माँ राजदेवी स–मिल तथा फर्निचर उद्योगको सहयोगमा स्थानियहरुलाई दाउरा वितरण गरिएको हो ।

कार्यक्रमअन्तर्गत गरिब, दलित, विपन्न, वृद्ध, महिला, ज्येष्ठ नागरिक तथा शारीरिक अपांगता भएका व्यक्तिहरुलाई चिसोबाट बचाउनका लागि बिहीबार साँझ प्रहरीले दाउरा वितरण गरेको हो । जनकपुर महानगरपालिका अन्तर्गत रामानन्द चौक, पिडारी चौक, भानु चौक, शिव चौक, मुरली चौक, जिरोमाईल लगायतको बिभिन्न स्थानमा पुगेर प्रहरीले दाउरा वितरण गरेको हो ।

जनकपुर क्षेत्रमा अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर हुँदै गएपछि प्रहरीले समुदाय–प्रहरी कार्यक्रम अन्तर्गत दाउरा वितरण गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धनुषाका प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्की, प्रहरी निरिक्षक अशोक कुमार झा, प्रहरी निरिक्षक अवधेश कुमार यादव लगायत प्रहरी कर्मचारीहर, परिक्रमा समुदायिक सेवा केन्द्रका अध्यक्ष रञ्जित राय, राजदेवी स–मिलका संचालक संचालक श्रवण साह तथा विभिन्न संघ संस्थाका प्रमुखहरु उपस्थित थिए ।