को बन्ला नयाँ सभामुख, पूर्व एमाले कि पूर्व माओवादी?

दियोपोस्ट संवाददाता

काठमाडौं । बिगत ३ महिना देखि रिक्त रहेको सभामुख पदमा कसलाई पठाउने भन्ने बिषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)ले अहिलेसम्म टुंगो लगाउन सकेको छैन । भोलि शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पनि नयाँ सभामुख को भन्ने विषयले चर्चा पाउने छ ।

यद्यपी, संसदमा प्रष्ट बहुमत भएकाले (नेकपा)ले चाहेको व्यक्ति सभामुख हुने भएकाले पार्टीमा आंकाक्षी नेताहरुको दौडधुप पनि उत्तिकै देखिन्छ ।

तर, नेकपाले भने शुक्रबार साँझसम्म पनि नयाँ सभामुखबारे केही निर्णय गरेको छैन । बिहीबारदेखि जारी स्थायी कमिटी बैठकमा पनि यो एजेण्डा बनेको छैन ।

नेताहरुकाअनुसार सभामुख पूर्वएमाले कि पूर्वमाओवादीबाट भन्ने विवाद नै टुंगिएको छैन । त्यो तय नभएसम्म को सभामुख बन्छ भनेर भन्न नसकिने एक नेताले बताए ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका थिए । संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले १५ असोजमा राजीनामा दिएका थिए र अहिले पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वमाओवादी नेताहरुले नयाँ सभामुख पनि पूर्वमाओवादीकै कोटाबाट हुनुपर्ने माग गरेका छन् । र, पूर्वमाओवादीको भागमा पर्दा अग्नि सापकोटाको सम्भावना बढी छ । तर पम्फा भुसाल र देव गुरुङको पनि दाबी छ ।

यता पूर्वएमालेबाट आएका नेताहरु अब पूर्वमाओवादी, पूर्वएमाले भन्ने नहुने तर्क गर्छन् । यदि पूर्वएमालेबाट सभामुख चयन हुने अवस्था आउँदा पनि सभामुख को भन्ने अन्यौल छ ।

नेताहरुका अनुसार पूर्वएमाले कि पूर्वमाओवादी भन्ने बहस टुंगिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी किया प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको नेता भन्ने बहस हुनेछ ।

राष्ट्रपति भण्डारीले वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन चाहेकी छन् । तुम्बाहाम्फेले पनि सभामुखमा आफ्नो दावी प्रस्तुत गर्दै नेतृत्वसामू लबिङ तीव्र बनाएकी छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।

पूर्वमाओवादी नेताहरुका अनुसार उनीहरुले नयाँ सभामुखबारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँँग कुराकानी गर्ने जिम्मा प्रचण्डलाई दिएका छन् ।

तर प्रचण्डले कुराकानी गरेका छैनन् । सभामुखबारे के भयो भन्दा प्रचण्डले ‘अझै ५/६ दिन छ, विस्तारै छलफल गरौंला’ भन्ने जवाफ दिएको एक नेताले सुनाए ।

सम्बन्धित खबर