
काठमाडौं, ३ पुस । नेपाल प्रहरीमा एउटा चेनअफ कमाण्ड छ । सिपाहीले आफूभन्दा सिनियर हवल्दारलाई सलाम गर्नुपर्छ । हवल्दारले असइ, असइले सइ र इन्सपेक्टरले डिएसपीलाई सलाम गर्नुपर्छ । माथिल्लो दर्जामा क्रमश सानो दर्जाको प्रहरीले रिपोर्टिङ गर्ने फौजी संगठनको महत्वपूर्ण कडी हो । तर हवल्दारले सिपाहीलाई रिपोर्टिङ गर्नुपर्यो भने के होला ? ठीक त्यस्तै बुधकार गृहमन्त्रालयले गरेको एउटा सरुवाले नेपाल प्रहरीमा चेनअफ कमाण्ड नै भत्किएको छ ।
प्रहरी प्रधान कार्यालय मातहतको प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरीका सबैभन्दा जुनियर डिआइजी हुन्– विश्वराज पोखरेल ।
उनै पोखरेललाई उनी भन्दा २ ब्याज सिनियर डिआइजी सुर्य उपाध्यायले रिपोर्टिङ गर्नुपर्ने भएपछि प्रहरीको महत्वपूर्ण मानिएको चेनअफ कमाण्ड भत्किएको छ । विमानस्थल सुरक्षा प्रमुखको रुपमा रहेका उपाध्याय महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरी मातहत चल्नुपर्ने हुन्छ । सोही महानगरीय प्रहरी परिसर रानीपोखरीमा बुधबारदेखि सरुवा भएर आएका डिआइजी विश्वराज पोखरेलको सरुवा विवादमा परेको छ ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको दबावका कारण गृहमन्त्री र गृहसचिव समेत निरिह बन्दै पोखरेललाई परिसरमा सरुवा गरिएको स्रोतको दाबी छ । यद्धपी प्रहरी प्रमुख सर्वेन्द्र खनाल भने परिसरमा पोखरेललाई ल्याउँदा चेनअफ कमाण्डमा असर गर्ने भन्दै सरुवा नगर्ने पक्षमा थिए । तर, डिआइजी पोखरेलका आफन्त समेत रहेका ईश्वर पोखरेलको दबावका अघि प्रहरी प्रमुख खनाल र गृहसचिव मात्रै होइन गृहमन्त्री राम बहादुर थापा बादलको समेत केही लागेन । यसअघि बढुवामा समेत यस्तै भएको थियो । पोखरेललाई बढुवा गर्न समेत गृहमन्त्रीलाई रक्षा मन्त्री ईश्वर पोखरेलको दबाव थियो ।
विमानस्थलका डिआइजी बिदामा !
डिआइजी पोखरेलको परिसर सरुवा भएपछि उनीभन्दा २ ब्याज सिनियर डिआइजी सुर्य प्रसाद उपाध्याय भोली शुक्रबारदेखि नै विदामा बसेका छन् । ‘हवल्दारले सिपाहीलाई रिपोर्टिङ गर्ने परम्परा नेपाल प्रहरीमा शुरु भयो । अब म १५ दिनसम्म विदामा बस्छु,’ उपाध्यायको भनाई उदृत गर्दै एक उच्च अधिकारीले दियोपोस्टसँग भने,‘यसले नेपाल प्रहरी संगठनमा दुरगामी प्रभाव पार्छ । हाम्रो संगठनको लागि ठूलो दुर्भाग्य हो ।’
पोखरेलको सरुवा भएको जानकारी आएपछि उपाध्यायले विदामा बस्ने निर्णय गरेका हुन् । उपाध्याय ठाकुर प्रसाद ज्ञवालीहरुकै ब्याजमा डिआइजी हुन् ।
‘नेपाल प्रहरीमा जुन सिनियरीटि हुन्छ त्यो मेन्टेन भएन । उहाँ (पोखरेल) त्यहाँ जानुमा मेरो आपत्ति होइन । माथिल्लो कार्यालयमा जुनियर र तल्लो कार्यालयमा सिनियर बस्नु कहाँ सम्मको न्याय संगत हुन्छ,’ उनको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘यो मेरो व्यक्तिगत कुरा पनि होइन । होल प्रहरी संगठनको कुरा हो । कि यो विमानस्थललाई हेडक्वार्टर मातहत राखेको भए केही हुन्थेन । मेट्रो मातहत राख्ने र यहाँ सिनियर मेट्रोमा जुनियरलाई राख्ने उपयुक्त होइन ।’
यस विषयमा उपाध्यायको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले विदा लिएको भने स्विकार गरे । बाँकी विषयमा भने आफू अहिले बोल्न नसक्ने उपाध्यायले बताए ।