काठमाडौं । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको छ । बैठकले सभामुख चयन गर्नका लागि एक साता लाग्ने पनि जनाएको छ । यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया शुरु हुने नेकपा स्रोतले जनाएको छ ।
संसद अधिवेशन र सभामुख निर्वाचनको प्रक्रियालाई लिएर बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने अनौपचारिक सहमति पनि दुवै दलका नेताहरुबीच भएको स्रोतले जनाएको छ ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाबीच कुराकानी भएपछि सभामुख निर्वाचनकै सन्दर्भमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवा र कांग्रेस नेता रमेश लेखकसँग पनि छलफल गरेका थिए । कांग्रेसले उपसभामुखले बैठक सञ्चालन गर्नेमा आपत्ति जनाएन ।
तर उपसभामुखले नै सभामुख निर्वाचनको प्रक्रिया शुरु गरेमा सभामुख नेकपाले नपाउने अवस्था आउने कांगेस नेताहरुको भनाइ थियो । प्रक्रिया शुरु भएपछि उपसभामुख तुम्बाहाम्फेनै कायम रहने र त्यो अवस्थामा सभामुखमा अर्को दलको दावी हुने भएकाले नेकपाले पनि सुरक्षित बाटो खोज्यो ।
शुक्रबारको बैठक उपसभामुखबाटै सामान्य प्रक्रियासहित सुरु सुनेछ । त्यसपछि पुस ८ वा ९ गतेसम्मका लागि बैठक स्थगित गर्ने तयारी छ । यसबीचमा उपसभामुखले पदबाट राजीनामा दिनेछिन् । उपसभामुखले राजीनामा दिएपछि अर्को बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।
जेष्ठ सदस्यले सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका अघि बढाउनेछन् । स्रोतका अनुसार यो सबै प्रक्रिया सकिदा सभामुख तथा उपसभामुखको निर्वाचन सम्पन्न हुन कम्तीमा एक साता समय लाग्नेछ ।
सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र औपचारिक छलफल भएको छैन । संसदीय दल बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई भेट्न शुक्रबार विहान बालुवाटार पुगेका थिए । दुई नेताबीच सभामुख कसलाई बनाउने भन्नेबारे छलफल भएको बताइएको छ ।
सभामुखमा प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई ल्याउन चाहेका छन् । पूर्वमाओवादी पक्षले सभामुख नछाड्न प्रचण्डलाई दबाब दिएको छ । पूर्व माओवादीबाट अग्नि सापकोटा प्रमुख दाबेदार हुन् ।