धादिङ कांग्रेसका पूर्वसभापति रामनाथ अधिकारीले भने,‘कामी दमाई र सार्कीले पकाएको खान्न’

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता,


धादिङ, ५ पुस । नेपाली कांग्रेसले आफूलाई प्राजातान्त्रिक विचारको ‘मसिहा’ ठान्ने गर्छ । तर, दलित समुदायमाथि विभेद गरेको भन्दै बैठकमा एक नेतालाई कारबाहीको माग गर्ने कांग्रेसका जिल्ला नेतालाई उल्टै धम्की दिइएको खुलाशा भएको छ ।


नेपाली कांग्रेस धादिङको शनिबार आयोजित जिल्ला कार्यसमिति बैठकमा पूर्व जिल्ला सभापति तथा पूर्व सांसद रामनाथ अधिकारीले दलित माथि विभेद गरेको भन्दै प्रश्न गर्ने गोपाल विश्वकर्मालाई धम्की दिएको पाइएको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार नेपाली कांग्रेसको जागरण अभियान चलिरहेको बेला भातृ संगठन नेपाल दलित संघले गत असोज ४ गते सहभोजको आयोजना गरेको थियो । धादिङकै निलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्ले भन्ने ठाउँमा आयोजना गरिएको सहभोज कार्यक्रम रोक्न कांग्रेस पूर्व सभापति अधिकारीले प्रयास गरेका थिए ।


‘सोह्र श्राद्ध लागेको बेला छ हामी बाहुनका छोराहरु हामी मासु खाँदैनौँ । झन त्यहाँ सहभोज राखेर दमाई, कामी, सार्कीले पकाएको खाने ? त्यो कार्यक्रम क्यान्सिल गर भन्दै त्यहाँकै वडा सभापतिलाई धम्काए,’ दलित संघकै एक अधिकारीले भने,‘उहाँले कार्यक्रम रोक्न सक्नु भएन । गोपाल विश्वकर्मा, राजन बराइली लगायत मिलेर सहभोज सम्पन्न गर्न लाग्नु भयो । केन्द्रीय प्रतिनिधि रमेश महतसहितलाई निमन्त्रण गरेर सहभोज कार्यक्रम सम्पन्न भएपनि पूर्व सभापति रामनाथ अधिकारी सहभागी भएनन् ।’


सोही सहभोजमा सहभागी नभएको र दलितमाथि विभेद गरेको भन्दै कांग्रेस नेता गोपाल विश्वकर्माले अधिकारीमाथि कारबाही गर्नुपर्ने माग गरेका थिए । तर, अधिकारीले आत्म आलोचना गर्नुको सट्टा ‘म पीताजीको श्राद्ध भएकाले आइन । यस्तो कुरा गरिस् भने ठीक हुन्न,’ भन्दै धम्की दिए,’ बैठकमा सहभागी एक नेताले दियोपोस्टसँग भने ।


‘पार्टीको १२ औँ महाधिवेशनले छूवाछुत गर्न हुँदैन भन्छ । तर पार्टीको पूर्व सभापति तथा सांसदले दमाइ कामी सार्कीले पकाएको खान्न भन्दै सहभोज रोक्नु कहाँसम्म उचित हो भन्दै गोपाल विश्वकर्माले प्रश्न गर्नु भयो,’ बैठकमा गोपालको भनाई उधृत गर्दै एक नेताले भने,‘राजनीति गर्ने मान्छेको धर्म जात हुँदैन भन्दै रामनाथ अधिकारीलाई कारबाही गरिपाउँ भन्दै प्रस्ताव राख्नु भयो ।’
जवाफमा अधिकारीले,–‘म श्राद्ध भएर नगएको हो । दलितले पकाएको खान्न भन्ने अधिकार छ । बढी बोलिस् भने राम्रो हुन्न ।’

सवाल खासै उठेन : अधिकारी


यस विषयमा नेपाली कांग्रेसका जिल्ला पूर्व सभापति रामनाथ अधिकारीले यस विषयमा शनिबार बसेको बैठकमा खासै सवाल नउठेको बताए । उनले आफू दोस्रो जागरण कार्यक्रम अन्तर्गत काठमाडौंको क्षेत्र नम्बर एकको प्रदेशमा खटिएको र पिताजीको ४ गते एकछाकी र ५ गते श्राद्ध भएको कारण सहभागी हुन नसकेको बताए । यद्धपी बैठकमा सहभागी एक नेताका अनुसार विवाद भएपछि बैठक स्थगित भएको छ ।


तपाईंहरुलाई कसले सुचना दियो भन्दै कांग्रेस सभापति धमलाको फोन !


यता दियोपोस्टले यस विषयमा पूर्व सभापति रामनाथ अधिकारीलाई प्रतिक्रियाको लागि सम्पर्क गरेको केही बेरमै जिल्ला सभापति रमेश धमलाले फोन गरेका थिए ।

उनले समाचार कसले दियो भन्दै प्रश्न गर्न थाले । ‘तपाईंहरुलाई यो समाचार कसले दियो । त्यस्तो केही विषय उठेको छैन । समाचार चाहीँ तथ्यमा होस्,’ धमलाले भने ।

सम्बन्धित खबर

सिफारिस