चितवन । भरतपुरमा निमार्ण गरिएको क्रुजसीपको परीक्षण गरिएको छ । भ्रमण वर्षको सुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारीअनुसार नदीमा टेष्ट ड्राइभ गरिएको हो।
नारायणी नदीमा आइतबार क्रुजसीप संचालन गरेर परीक्षण गरेपछि निमार्णकर्ता खुसी छन् । निमार्णस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालक करिब डेढ किलोमिटर यात्रा गरेका थिए।
मिनी क्रुजसीपको टेष्ट ड्राइभ सफल भएको संचालकले जनाएका छन् । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताए । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ । दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा एउटा महत्वपूर्ण योजनाले लगभग मूर्तरुप लिएको छ, कंडेलले भने, ‘नेपालमै पहिलो पटक संचालन गर्न लागिएको हुँदा के होला ? भन्ने थियो।’
भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा दुईजना यात्रुवाहक क्षमता भएको क्रुजसीप बनेको छ । दसैंअघि नै संचालन गर्ने भनिए पनि डिजाइन फेरिएपछि समय लागेको हो । क्रुजमा भीआइपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको छ ।
एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाज निमार्ण गरिएको छ । यो जहाज नर्वेजियन प्रविधिबाट निमार्ण गरिएको हो।भारतको केरलाका प्राविधिकले निमार्ण गरेका हुन्। सिंगापुर र भारतका प्राविधिकले नारायणी नदीको गहिराइको अध्ययन गरेर संचालन गर्ने सकिने निस्कर्ष निकालेका थिए ।
उक्त सीप एक करोड लागतमा निर्माण गरिएको कम्पनीको दावी छ। यसको तौल १० टन छ।निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुज निमार्णको काम पूर्ण भइसकेको छैन ।
क्रुजमा दुईवटा इञ्जिनमध्ये एउटा मात्रै संचालन हुने छ । कारणबस एउटा इञ्जिनमा समस्या आएमा मात्रै अर्को चलाइन्छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेसनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले आधुनिक प्रविधिको मेसिन राखिएको बताए। ‘परीक्षणबाट हामी उद्देश्यमा सफल भएको अनुभव गरेका छौं, जलपर्यटनका लागि सुरक्षित छ।’
क्रुजको तल्लो भागको निश्चित भागमा मात्र पानी पस्ने उनले बताए। सबै भागमा पानी नपस्ने गरि डिजाइन गरिएको छ। सुरुवातमा चालक दल र प्राविधिक गरी १५ जना हुनेछन् । नेपाली प्राविधिकलाई सिकाएर तयार गरिने बताइएको छ। दुई तलाको क्रुज निमार्ण गरिएको छ। पहिलोमा ९० जना र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।
करिब प्रतिघण्टा ३५ किलो मिटर संचालन हुनेछ । काभ्रेघाटदेखि गोलाघाटसम्म संचालन गर्ने योजना छ । त्यस्तै, हिउँदामा देवघाटसम्म संचालन गर्ने बताइएको छ । भरतपुर महानगरपालिका १६ का वडाध्यक्ष अमृतराज हमालले क्रुजले पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए। ‘भ्रमण वर्षलाई क्रुजसीपले केन्द्रीत गरेको छ’, हमालले भने, ‘यसको विकासको प्रभाव स्थानीयस्तरमा समेत रहनेछ।’
क्रुजको दुई तलामा सिसा राख्न बाँकी छ। त्यस्तै, महिला र पुरुषका लागि अलग अलग शौचालय, काउन्टर र बार बनाउने काम अन्तिम चरणमा छ । यस्तै, लाइट जडानको काम पनि भइरहेको छ । चालक बस्ने ककपिट भने तयार भइसकेको छ। क्रुजमा सिसा जडान पछि एसी जडान गर्ने तयारी छ भने कुर्सी राख्न बाँकी छ।
क्रुजसीपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबाट संयुक्तरुपमा गराउने योजना रहेको प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए।