बाँकेका पत्रकार पुजन विश्वकर्मा भन्छन्,‘ममाथि जातीय विभेद भयो’

दियो पोस्ट  

काठमाडौँ, ८ पुस । बाँके जिल्लास्थित युगगान दैनिक पत्रिकाका प्रकाशक तथा नेपाल पत्रकार महासंघ कोहलपुरका सदस्य पुजन विश्वकर्माले आफूमाथि जातिय विभेद भएको बताएका छन् । उनीमाथि जातीय हिंसा तथा अपमान हुुँदा पनि त्यहाँको प्रशासन र सरोकारवाला निकाय मौन भएको आरोप उनको छ ।


उनका अनुसार घटना आइतबार मध्यान्ह ४ बजे तिरको हो । “म आफ्नो पत्रिकाको अफिसमा बसिरहेको थिएँ । यो पत्रिका २ वर्षदेखि बाँकेबाट प्रकाशन हुनेगर्छ । म त्यस पत्रिकाको प्रकाशक र युगयान मिडिया प्रा.लीको अध्यक्ष पनि हो । म अफिसमा बसिरहेका बेला दिउँसो ४ः३० बजेतिर नेपाल कम्युनिष्ट पार्टी, कोहपुर नगर कमिटी सदस्य तथा पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले र सोही नगर पालिका वडा नं. १० का नगर कमिटी सदस्य संगीन शर्मा मेरो युगयान दैनिक पत्रिकाको कार्यालयमा प्रबेश गरे,’ विश्वकर्माले भने ।


उनीहरु निकै बेर होहल्ला गरेको उनले बताए । “मैले तपाईहरु मापसे गरेर आउनु भएको छ, आज जानुस्, भोलि कुरा गरौँला भन्दा पनि उनीहरु रोकिएनन् ।” उनले दुबै जना मदिरा सेवन गरेर असामान्य अवस्थामा रहेको र गाली गलौज गर्दै आफुमाथि झम्टिएको उनले बताए ।


“कामीले पत्रिका चलाउने ?, कामीलाई नमस्कार गर्नु पर्ने, कामीले अनलाईन चलाउने ? तँ ठूलो हुने ? हामीलाई नगन्ने ? कामी चाँही प्रदेश कमिटीमा पुग्ने, हामी चाँही सडकमा पुग्ने ? तँ मूलाले के गर्छस् ? तँलाई नमस्कार गर्दैनौ । ल ! देखा तेरो पवर । हामीसंग त संसद–मन्त्रीहरु छन्, हामीलाई प्रचण्डले पनि साथ दिनुहुन्छ । तँ मुला कामीको को छ र ? तँ मुलालाई ठेगान लगाउछाैँ ।” यसो भन्दै माथी हातपात गर्न खोजियो । पुजनले दियाेपाेष्टसंग बताए ।

‘केही बेर धकेलाधकेल भयो । त्यसपछि आफूलाई असुरक्षित महसुस गरेर मैले प्रहरीलाई खबर गरेँ’ उनले थपे, ‘दिउँसो ४ः४६ बजेतिर मैले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख हेम बहादुर शाहीलाई फोन गरेर “म माथि हातपात भयो, मेरो ज्यान बचाइदिन पर्यो”, भन्दै मैले फोन गरेकाे थिएँ । “देशमा यती ठुलो परिवर्तन आइसक्यो तर, दलितलाई अपमान गर्दै कामी दमाई भनेर हेप्न त पाईदैन नि”, उनले दुखेसो पोखे ।


प्रहरी पुग्नु भन्दा पहिले उनकै गाउँले भाई रमेश मिजार घटना स्थलमा पुगेका थिए । रमेश पुग्ने बित्तिकै उनलाई पनि तथानाम गाली गर्दै हातपात गरेको बिश्श्वकर्माले बताए । त्ससपछि प्रहरी आएपछि तिनै जनालाई भ्यानमा हालेर चाैकी लिएर गएका थिए । तर, मदिरा सेवन गरेका ती व्यक्तिको मापसे परिक्षण पनि गरिएको विश्वकर्माले जानकारी दिए ।


“म १६ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा आवद्ध छु । म पत्रकार महासंघ, बाँके जिल्लाको साधारण सदस्य हो । पत्रकार महासंघले जिल्ला समितिलाई मात्र हेर्छ कि जिल्लाका साधारण सदस्यलाई पनि हेर्छ ? मेरो बदनाम गर्ने काम गर्यो । म जातीय रुपमा विभेदमा परेको छु । ममाथि अन्याय भएको छ । तर मेरो बिषयमा कोही पनि बोलेनन्,” पुजनले भने ।


आफूमाथि अन्याय भएको बिषयमा पार्टी तथा पत्रकार महासंग नबोलेको उनको गुनासो छ । “पत्रकार महासंघ पनि चुप छ । मलाई जातीय रुपमा विभेद गर्नु, मापसे सेवन गरेर मेरो कार्यालयमा प्रवेश गर्दै मलाई गाली गलौँज गर्नु कत्तिको जाहेज हो ? के मैले न्याय पाउनु पर्दैन ?” विश्वकर्माले आफ्नो पीडा सुनाए,“पहिलो कुरा त म कुनै नेता कार्यकर्ता पत्रकार भन्दा पनि म मान्छे हुँ । मेरो मानव अधिकारको रक्षा गरियोस् । आन्दोलन र जिविको पार्जनको माध्यम पत्रकारिता छोडेर म कहीँ जान्न, सत्य यही हो, मलाई भारतीय गुण्डा बोलाएर कुटाउन छलफल गर्नु पर्दैन ।”


यस विषयमा घटनामा समलग्न रहेको आरोप लागेका प्रदीप वाग्लेलाई दियोपोस्टले सम्पर्क गरेको थियो । वाग्लेले पुजनले लगाएको आरोप झूटो भएको बताए । ‘उहाँ र हामी विगत लामो समयदेखि सँगै छौँ । हामी एकै ठाउँमा खाना खाएर हिँड्छौँ । उहाँ माथि हामीले जातिय विभेद गर्नु त कल्पना पनि गर्न सकिँदैन,’ उनले भने ।


त्यस्तै अर्का संगीन शर्माले पनि आफू माथि नै पुजन विश्वकर्माले बाहिरि मान्छे लगाएर कुटपीट गरेको आरोप लगाए । आफू र पुजनबीच बोलचाल समेत नभएको र पुजनले जातिय विभेदको आरोप लगाउनु सरासर झूटो रहेको बताए ।

सिफारिस