काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता रहेका लक्ष्मीबहादुर ‘निराला’ खड्का न्यायपरिषद् सदस्यमा सिफारिस भएका छन्। न्यायपरिषदबाट राजीनामा दिएका पदमप्रसाद वैदिकको ठाउँमा वरिष्ठ अधिवक्ता खड्का सिफारिस भएका हुन्। एक वर्ष कार्यकाल रहँदै वैदिकले केही समयअघि राजीनामा दिएका थिए।
संसदीय सुनुवाइ समितिले मंगलबार बिहान बसेको बैठकमा १० दिनको समय दिएर खड्काविरुद्ध उजुरी आह्वान गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा खड्का ०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्याधिवक्ता भएका थिए। दुई तिहाई कम्युनिष्ट नेतृत्व सरकारको पालामा शाहीकालमा महान्याधिवक्ता भएका खड्का न्यायपरिषद सदस्यमा सिफारिस भएपछि सत्तारुढ नेकपाका भित्रका वकिलहरुमा हलचल भएको छ।