
काठमाडौँ, पुष ९ । पोखरा प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा बुटवल ब्लास्टर्सले बिराटनगर टाइटन्स सामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको हो ।
बुटवलका लागि दुई भारतीय खेलाडी हर्स टंक र शिभम् सिंले उत्कृष्ठ ब्याटिङ गरे । हर्सले ४४ बल खेल्दै ६ चौका र ५ छक्काको मद्धतले व्यक्तिगत ६७ रन बनाए । त्यस्तै पाँचौ नम्बरका ब्याट्सम्यान शिभम् सिंले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३७ रनको योगदान गरे । टोलीका अन्य खेलाडीहरुले निकै नै फितलो ब्याटिङ गरेका थिए । निकै आशा गरिएका खेलाडी अफ्तावुदिन अहमद पहिलो बलमै पवेलियन फर्के । उनिसंग साझेदारी खेलिरहेका शंकर राना १४ बलमा २ रन बनाउँदै आउट भए ।

तेस्रो नम्बरमा आएका हर्सले निकै नै शानदार ढंगले ब्याटिङ गर्दै रन बटुलेका थिए । यसअघिका खेलहरुमा निकै राम्रो ब्याटिङ गर्दै आएका भीम सार्कीले आजको खेलमा भने सोँचेअनुसारको प्रदर्शन गर्न सकेनन् । ७ बल खेलेका भीमले ५ रन मात्र बनाउन सके । त्यसपछि मैदान प्रवेश गरेका शिभम् सिंहले हर्स सँग निकै राम्रो साझेदारी खेले । त्यसपछि ब्याटिङमा आएका कप्तान सिद्धान्त लोहनी पनि २१ बलमा ११ रन बनाउँदै पवेलियन फर्के । खेलमा संसद शेख र अभिनास बोहराले क्रमशः ७ र १ रन बनाए ।
बलिङतर्फ बिराटनगरका मोहम्मद जेद आलमले उत्कृष्ठ ४ विकेट लिए । किशोर महतोले २ विकेट लिँदा सहबब आलम र दिपेश श्रेष्ठले एकएक विकेट लिए ।

बिराटनगरलाई आजको खेल जित्नै पर्ने स्थितिमा रहेको छ । लिग तालिकाको अन्तिममा रहेको बिराटनगरले ५ खेलमा १ खेलमात्र जितेको छ । बिराटनगरमा प्रदिप ऐरी ( कप्तान ), दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , राजु रिजाल , दिलिप नाथ, सुनिल धमला , लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम, नोमन खान रहेका छन् ।