काठमाडौँ । आज इसाई धर्मावलम्बीहरुको मुख्य पर्व ख्रीष्टमस । यो पर्व हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरी नै मनाउने प्रचलन रहीआएको छ । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा इसाई धर्मालम्बीहरुले यो पर्व हर्सोल्लासका साथ मनाउने गर्छन् । तर पछिल्लो समय इसाई मात्र होइन गैर इसाई पनि ख्रीष्टमस पर्वमा रमाउने गरेका छन् ।
ख्रीष्टमसको अघिल्लो दिन राजधानीका मुख्य बजार र सुपर मार्केटहरुमा ख्रीष्टमसका लागि किनमेल गर्नेहरुको घुइचो थियो । बजारमा क्रिष्टमस ट्रि र सान्टाको कपडा राम्रै बिक्री भए । तर, ति किनमेल गर्नेहरु इसाई मात्र थिएनन् । अधिकांश त गैर इसाईहरु थिए । अझ भनौ, इसाई धर्मको खुलेरै बिरोध गर्ने हिन्दुहरु आफ्ना बालबच्चाको खुसी भन्दै ति सामान किन्दै थिए । त्यतीमात्र होइन, आफ्ना बालबच्चाहरुलाई सान्टाको कपडा लगाइदिएर सामाजिक संजालमा फोटो पोष्ट गर्ने इसाई भन्दा हिन्दुहरु नै बढि देखिए । त्यसो त हिन्दुहरुले पनि ख्रीष्टमसको शुभकामना दिएर इसाई समुदायलाई साथ दिएको पाइन्छ ।

नेपालमा धार्मिक सहिष्णुता राम्रै देखिएको बताउँछन् राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराज । येशुको जन्मोत्सवको उपलक्ष्यमा गैर क्रिश्चियनहरुले पनि शुभकामना दिएको उनको भनाई छ ।
गहतराजका अनुसार नेपालमा अहिलेसम्म १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन् । उनीहरु आज शुभकामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने उनले बताए ।
यो पर्व हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने र सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको महासंङ्घका अध्यक्ष हतराजले बताए ।