
काठमाडौँ, पुष ९ । समाजवादी पाटीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवं ससदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।
‘समाजवादी पार्टीले सरकार समर्थन फिर्ता गरेको घोषणा गर्दछु’ , पत्रकार सम्मेलनमा बोल्दै उनले भने ,‘संसदमा हाम्रो पार्टीले बलियो प्रतिपक्षीको भुमिका निर्वाह गर्नेछ । ’ यादवले प्रधानमन्त्री ओली संविधान संसोधन गर्ने पक्षमा नरहेको आरोप समेत लगाएका छन् ।
नेकपा नेतृत्वको बर्तमान सरकारमा दुई तिहाईको दम्भ भएको र आफ्नो पार्टीले सरकार छोडेपछि त्यो दम्भ पनि तोडिएको उनले बताए । सरकारबाट बाहिरिएपछि राजपा सँग पार्टी एकिकरणको बाटो समेत खुलेको उनको स्वीकार छ । ‘राजपासँग पार्टी एकता गर्न हामी तयार छौँ, उहाँहरु पनि तयार हुनुभयो भने पार्टी एकता हुन्छ’ उनले भने ।
पत्रकार सम्मेलनमा अर्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संसोधनको विकल्प नरहेको भन्दै सरकारको प्रतिपक्षमा बसेर त्यसतर्फ दबाब दिने बताएका छन् । देशको संविधान र शासकिय स्वरुप नै उचित नभएको बताएका छन् ।
प्रतिपक्षमा रहेर संविधानलाई संशोधन गर्न परिमार्जन गर्न र सुधार गर्न आफूहरु निरन्तर रुपमा लागि पर्ने उनको भनाइ थियो।

समाजवादीबाट सरकारमा सहभागी यादवसहित मोहम्मद इस्तियाक राईले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए . उनले भने, ‘अंक गणितको हिसाबले उहाँहरुलाई असर नपरे पनि राजनीतिक मूल्य र मान्यताले नेकपा सरकारलाई ठूलो हलचल आइसकेको छ।’