खण्डग्रास सुर्यग्रहणमा के गर्ने के नगर्ने ? कुन राशीलाई कस्तो असर ?

दियो पोस्ट  

काठमाडौँ, पुष १० । खगोलिय इतिहासमा दुर्लभ खण्डग्रास सुर्यग्रहण बिहीबार शुरु हुँदैछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ८ बजेर ४२ मिनेट जाँदा ग्रहण शुरु हुनेछ ।

पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र परेर सूर्यको केही भाग र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ ।

धर्मशास्त्र अनुसार सुर्यग्रहणको समयमा जडराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गनुहुँदैन, अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै भएर पनि उसको मानसिक र दिमागी सन्तुलमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरुले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।

हिन्दु धमशास्त्रमा ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, विभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

कुन राशी भएकाले ग्रहण हेरे कस्तो असर ?

मेष : माननाश
वृष : कष्टम्
मिथुन : स्त्रीपीडा
कर्कट : सौख्यम
सिंह : चिन्ता
कन्या : व्यथा
तुला : श्री प्राप्ति
बृश्चिक : क्षति
धनु : घात
मकर : व्यय
कुम्भ : लाभ
मीन : सुखम्