डिभोर्सको हल्लाबारे रामकृष्ण भन्छन् ,‘ हामी सँधैझैँ हाँसी खुशी परिवारमा संगैछौँ, श्रीमतीको चरित्र हत्या भयो’

दियो पोस्ट  

काठमाडौँ, पुष १० । चर्चित गायक रामकृष्ण ढकालले संचारमाध्यमहरुले आफ्नी श्रीमती निलम शाह ढकालको चरित्र हत्या गरेको बताएका छन् । बुधबार विभिन्न संचार माध्यमहरुमा उनि र उनकी श्रीमतीको सम्बन्ध बिच्छेद भएको समाचार सम्प्रेषण भएका थिए ।

सोही समाचारबारे लामो स्पष्टीकरण दिँदै गायक ढकालले आफ्नो परिवारको आत्मसम्मानलाई ठेस पुग्ने गरि संचारमाध्यमहरुले भ्रामक समाचार प्रसारण गरेको बताएका छन् । उनले आफु पत्नीसँग सँधैझै हाँसीखुशी रहेको र सम्बन्धमा कुनैपनि चिसो नआएको समेत बताएका छन् ।

विहीबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै गायक ढकालले अनुमानको भरमा संचार माध्यमहरुले समाचार प्रसारण गरेको आरोप लगाएका छन् । ‘विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम समन समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ’, उनले लेखेका छन्, ‘व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो ।’

बुधबार संचार माध्यम र सामाजिक संजालमा रामकृष्ण ढकाल र निलम शाह बिच सम्बन्धबिच्छेद भएको समाचार सनसनी बनेको थियो । यता, ढकालले भने संचारमाध्यममा आएजस्तो आफ्नो दाम्पत्य जीवनमा कुनैपनि चिसो नआएको भन्दै सम्बन्ध बिच्छेद भएको कुरालाई ठाडै अस्वीकार गरेका थिए । दियोपोस्ट सँगको कुराकानीमा संचारमाध्यममा आएका समाचार फेक रहेको समेत दावि गरेका थिए ।

श्रीमतीसँग डिभोर्सको हल्ला भाइरल भएपछि बिहीबार मध्यान्ह ढकालले लामो स्टाटस यसरी लेखेका छन् ।

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाएँ त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक–श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक ÷ श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक÷श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस !