काठमाडौँ । मोडलिङ गर्ने भन्दै एक युवतीलाई प्रलोभनमा पारेर बलि दिने कार्यमा प्रयोग गर्न खोजेको आरोपमा पक्राउ परेका ७ आरोपीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
आरोपित सबैजनालाई महानगरीय प्रहरी परिसर काठमाडौँको प्राङ्गणमा सार्ववजिक गरिएको हो । पक्राउ पर्नेमा उमेश सप्तरी राजबिराज, कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी पनि पक्राउ परेका छन् ।
उनीहरुको प्रस्ताव स्वीकार गरेकी युवतीले पछि शंका गरेपछि उद्धारका लागि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएकी थिइन् । उनको उजुरी पछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा प्रहरीले पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाई भएकी युवती मगाएका थिए । उनले युवती मासु र रक्सी खाने हुन नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए ।
युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । यो घटनाको मास्टरमाइन्ड र डिजाइनर सबै पोद्दार रहेको प्रहरीको दावी छ ।
पोद्दार र भारत बिहारस्थित एक मन्दिरका बाबाबीच टेलिफोनमा पटकपटक संवाद भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीले बाबाको पहिचान भने खुलाएको छैन ।
प्रहरीले भने काठमाडौँमा मोडलिङ गर्ने भन्दै युवतिलाई बलि दिने योजनाका साथ भारतको बिहान पुर्याउने कार्यमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको बताएको छ ।
उनीहरुले युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिएर विराटनगरसम्म पुर्याएका थिए ।