
काठमाडौँ, पुष १० । बिराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । बिहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै बिराटनगरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पोखरा रंगशालामा १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रनमात्र बनाएपछि बिराटनगर विजयी भएको हो ।
लक्ष्य पछ्याउने क्रममा बुटवलका भरत सार्कीले सर्वाधिक ४४ रन बनाए । उनले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अफ्तावुद्धी अहमदले ४३ रन बनाए । उनले २२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । लिगको यसअघिका खेलहरुमा निकै नै उत्कृष्ठ ब्याटिङ गरेका हर्स टोंकले आजको खेलमा भने निकै निराशाजनक प्रदर्शन गरे । उनी २ रनमात्रै बनाएर पवेलियन फर्के । पुरन बिके र शिभम् सिंहले क्रमश १५ र १४ रन बनाए ।
निकै प्रतिस्पर्धामा गइरहेको खेलमा ब्याटिङको लागि अभिनास बोहरा क्रिजमा उभिएपछि बुटवल दबावमा परेको थियो । अभिनासले २ ओभर ब्याटिङ गर्दा साझेदारी गरिरहेका कप्तान सोमपाल कामीलाई स्ट्राइक दिन नसक्नु नै बुटवलको हारको कारण बनेको छ । कप्तान सोमपालले ७ बल मात्र खेल्न पाएका थिए भने टिमलाई ५ रनमात्र योगदान गर्न सके ।
बलिङतर्फ पुनित मेहरा र शहबब आलमले समान तीनतीन विकेट लिए भने किशोर महतो, जितेन्द्र मुखिया र मोहम्मद जेद आलमले एकएक विकेट लिए ।
पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको हो ।

१६५ रनको योगफल तयार गर्नका लागि बिराटनगरका सुनिल धमलाले अर्धशतक माथि रन जोडे । उनले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६१ रन बनाए । प्रतियोगितामा सुनिलको यो पहिलो अर्धशतक हो । त्यस्तै मोहम्मद जेइद आलमले २० रन बनाए । उनले १३ बलमा ३ चौका प्रहार गरे । कप्तान प्रदीप ऐरिले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गर्दै ३३ रनको योगदान गरे । इनिङको अन्त्यतिर आएका ऐरिले १३ बलमा ४ छक्का र १ चौकाको सहायताले ३३ रन जोडे । अन्तिम ओभरमा ऐरिले १९ रन बनाए । उनले ६ बलमा २ छक्का र १ चौका प्रहार गरे ।
ब्याटिङतर्फ लोकेश बम र पुनित मेहराले समान १९÷१९ रन बनाए । अन्तिम चरणमा आएका मनिस थापाले २ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ बिराटनगरका हर्स टोंकले २ विकेट लिए भने अभिनाश बोहरा र ललित भण्डारीले समान एकएक विकेट लिए ।
जितसँगै बिराटनगर टाइटन्सले शुक्रबार पारस खड्का नेतृत्वको चितवन राइनोज् सँग प्रतिस्पर्धा गर्ने छ ।