समायोजनमा मापदण्डको ख्याल नगरिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित

दियो पोस्ट  

जनकपुर । कर्मचारीहरुको समायोजना गर्दा मापदण्डको ख्याल नगरिएको भन्दै नेपाल स्वास्थ्यकर्मी सङ्घ आन्दोलित भएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घ धनुषाले स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न १७ बुँदे माग अगाडी सारेर आन्दोलनमा उत्रिएको हो ।

कर्मचारीहरुको समायोजनमा समायोजन ऐन २०७५ को ख्यालै नगरी गरिएको नेपाल स्वास्थ्यकर्मी सङ्घले आरोप लगाएको छ । निश्चित मापदण्ड अनुरुप कर्मचारी समायोजन नगरिए आन्दोलन गर्न बाध्य हुने संघले चेतवनी दिएको हो ।

समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुलाई स्थानीय तहले निश्चित मापदण्ड अनुरुप पदस्थापना गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई हाजिर नगराउने, तलब भत्ता नै नदिई रमाना पत्र दिएर मानसिक तनाव दिन बन्द गर्नुपर्ने, स्वास्थ्य सेवा ऐन, निजामती सेवा ऐन, संसद सेवा ऐन र स्थानीय ऐन खारेज गरी बन्न लागेको संघिय निजामति सेवा ऐनमा स्वास्थ्यकर्मीहरुको माग सम्बोधन हुनु पर्ने, बाह्य श्रोतमा कार्यरत कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको रकम सुरक्षित हुनु पर्ने लगायतका मागहरु सङ्घले अगाडी बढाएको हो ।

सङ्घले एक पत्रकार सम्मेलनको आयोजना गर्दै तीन वटै तहको सरकार स्वास्थ्यकर्मीहरुको मागप्रति गम्भीर नरहेको आरोप लगाएको हो । संघका केन्द्रिय अध्यक्ष रमेश घिमिरेले स्वास्थ्यको कार्यक्रमका लागि उपलब्ध गराइने बजेट अन्य शीर्षकमा खर्च हुँदा समग्र स्वास्थ्य क्षेत्र नै प्रभावित भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले स्वास्थ्यको रकम प्रदेश सरकार तथा स्थानीय सरकार भौतिक संरचना निर्माणमा प्रयोग गर्ने गरेकोमा आक्रोश व्यक्त गरे ।

घिमिरेले मागहरु सम्बोधन नगरिए स्वास्थ्य सेवा प्रवाह प्रभावित नहुने गरी आन्दोलन गर्ने चेतावनी दिए ।

अधिकांश स्थानीय तहमा जनप्रतिनिधिले स्वास्थ्यकर्मीलाई हाजिर हुन नदिएको र स्वास्थ्यकर्मी कर्मचारीहरु केहि महिनादेखि तलब समेत बुझ्न नसक्दा निकै कठिनाई भएको संघका धनुषा अध्यक्ष रामगुलाम कर्णले गुनासो गरे ।