जिल्ला अस्पताल धादिङमा अध्यक्ष महेन्द्र धमलाको चरम लापरबाही : बिरामी सुत्ने बेडमा कुकुर !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
धादिङ, पुष १० । जिल्ला अस्पताल धादिङमा बिरामी सुत्ने बेडमा कुकुर सुत्ने गरेको पाइएको छ । अस्पताल संचालन तथा व्यवस्थापन समितिको चरम लापरबाहीको कारण बिरामीलाई सुत्न प्रयोग गरिएको बेडसम्म कुकुर समेत आएर सुतेको पाइएको हो ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले सार्वजनिक कार्यक्रमबाट नै जिल्ला अस्पताल धादिङलाई नमुना अस्पतालको विकास गर्ने बताउँदै आएका छन् । सामान्य कुकरको समेत व्यवस्थापन गर्न नसक्ने संचालक समितिले नमुना अस्पताल बनाउने भन्दै गफ लगाएको विषय यतिबेला चर्चामा रहेको छ । हाल मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका डा. त्रिभूवन चन्द्र झा अस्पताल परिसरमा निकै रवाफ देखाउँछन् । तर, उनले समेत सामान्य कुकुरको समेत व्यवस्थापन गर्न नसकेको प्रति अस्पतालमा आउने सेवा ग्राहीले प्रश्न गर्न थालेका छन् ।


बिरामी सुत्ने बेडमा कुकर सुत्दा बिरामीलाई थप संक्रमण हुन सक्छ । अस्पतालको बेडभित्र पाल्तु भन्दा भुस्याहा कुकरहरु आउने गरेको स्थानीयहरु बताउँछन् । कुकुरको छालामा हुने किटाणुहरुले बिरामीलाई थप संक्रमण गराउने खतरा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर डा. शेरबहादुर पुनले बताए । उनका अनुसार कुकुरबाट रेबिज मात्र नभई छालाको समस्या, एलर्जी, जुका, किर्नाबाट हुने विभिन्न रोग, हाइडेटेड सिस्ट, लेप्टोस्पोरोसिस लगायत थुप्रै प्रकारका रोग सर्न सक्दछन् ।

कुकुरमा हुने जिवाणूहरुले सबैभन्दा बढी खतरा गर्भवती महिला र बुढापाकामा हुने गर्दछ । अस्पतालमा विकिरण मार्फत उपचार गराइरहेका बिरामीहरुमा समेत खतरा हुने गर्दछ । यति धेरै खतराका बाबजुद पनि अस्पतालमा कुकरको नियन्त्रण गर्न कुनै पनि पहल गरिएको छैन ।

अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले पनि अस्पतालमा कुकरको विगविगी बढिरहेको कुरालाई स्वीकार गरेका छन् । दियोपोस्ट सँगको कुराकानीमा धमलाले आफु पनि विगत एक महिना अघि देखि अस्पतालमा आउने कुकुरको हिसाब गरेको बताए । कुराकानीमा अध्यक्ष धमलाले गाउँघरबाट बिरामीहरु आउँदा कुकुर पनि सँगै आउने र बिरामी घर फर्किए पनि कुकुर भने अस्पतालमै बस्ने कारणले अस्पताल परिसरमा कुकुरको बिगबिगी बढेको बताए ।

अस्पताल नजिकै कुकुरनी रहेको र सोही कुकुरनीको कारण टोलभरिका कुकुरहरु अस्पतालमा नै जम्म हुने धमलाले बताए । कुकुर व्यवस्थापन गर्ने सम्बन्धित निकायहरुले पनि व्यबस्थापनमा ध्यान नदिँदा अस्पताल परिसरमा कुकुरको बिगबिगी बढेको बताए । उनले दियोपोस्टमार्फत निलकण्ठ नगरपालिकालाई कुकुर व्यवस्थापन गरिदिन समेत आग्रह गरे ।

सिफारिस