काठमाडौँ, पुष १२ । पोखरा प्रिमियर लिगमा आज फाइनल खेल हुँदैछ । पोखरा रंगशालामा शनिबार बिहान साढे ११ बजेदेखि खेल शुरु हुनेछ । उपाधीका लागि स्टार खेलाडीहरुले भरिएको चितवन राइनोज् र लयमा रहेको बिराटनगर टाइटन्स खेल्दै छन् ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने खेल ११ः३० बजे सुरु हुनेछ। प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
पिपिएलको लिग चरण अन्तर्गत पांच वटै खेलमा जित हात पार्दै चितवन एक मात्र अपराजित टिमको रुपमा अंकतालिकाको पहिलो स्थानमा रहँदै सोझै फाइनल प्रवेश गरेको थियो। बिराटनगर भने समुह चरणमा दुइ जित र ३ हार पछि तेश्रो स्थानमा रहँदै इलिमीनेटर पुगेको थियो। इलिमीनेटरमा बिराटनगरले सोमपाल कामि कप्तानीको टिम बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
पारस खड्का, करन केसी, आरिफ शेख जस्ता राष्ट्रिय तथा रोहन मुस्तफा, बाबर हायात र सन्नी पटेल जस्ता विदेशी खेलाडीहरु रहेको चितवन प्रतियोगिताकै बलियो टिम हो। नाम अनुसारकै प्रदर्शन पनि यी खेलाडीहरुले गरिरहेकोले चितवनलाई पराजित गर्नु निकै मुस्किल मानिएको छ।
चितवनले प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले, बुटवल ब्लास्टर्सलाई ११९ रनले, धनगढी ब्लुजलाई ५२ रनले, बिराटनगर टाईटन्सलाई १८ रनले तथा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनले पराजित गरेको थियो। सबै खेलहरु चितवनले एकतर्फी ढंगले जितेको थियो।

यता लिग चरणमा ५ खेलमा २ जित र ३ हार बेहोरेको बिराटनगरले इलिमीनेटरमा बुटवललाई पराजित गर्यो। यस क्रममा बिराटनगरले फाइनल अघि लगातार दुइ खेलमा जित दर्ता गरेको छ। बुटवल बिरुद्धनै बिराटनगर लिगको अन्तिम खेलमा विजयी भएको थियो।
बिराटनगर लिग चरणको पहिलो खेलमा धनगढीसंग ५ रनले पराजित भएपछि दोश्रो खेलमा पोखरा पल्टन बिरुद्ध ४५ रनको जित दर्ता गरेको थियो। त्यसपछि काठमाडौँसंग ३६ रनले तथा चितवन राइनोजसंग १८ रनले पराजित भएपछि जित्ने पर्ने पाँचौ खेलमा बिराटनगरले बुटवललाई पराजित गरेको थियो।
प्रतियोगिता अघि बढेसंगै लयमा आएका खेलाडीहरुको कारण बिराटनगर फाइनल अघि सकारात्मक रहेको छ भने अर्कोतर्फ म्याच विनर स्टार खेलाडीहरुले भरिएको चितवन हर परिस्थितिमा जित्ने आत्मविश्वास राखेको छ।