
भरतपुर । राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रथम जिल्ला भेला शनिवार भरतपुरमा सम्पन्न भएको छ । भेलाले चितवनका पत्रकार अमिर रामदामको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
कार्यसमितिमा गोपाल बिश्वकर्मा (उपाध्यक्ष), श्याम बिश्वकर्मा (सचिव), मोनिका बिश्वकर्मा (सह- सचिव) र प्रीती पोखरेल (कोषाध्यक्ष)मा चयन भएका छन् । त्यस्तै, सदस्यहरु सन्तोष बिश्वकर्मा, भग्यश्वरी गायक, प्रदिप परियार, शम्भु बिक र यात्री छिनाल रहेका छन् ।
त्यस्तै, भेलाले बिजय बिश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरको छ । सल्लाहकार समिति सदस्यमा कृष्ण बिक (सुनार) र मिना परियार रहेका छन् ।

भेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेकपाका जिल्ला नेता कृष्ण भक्त पोखरेलले गरेका थिए । उद्घाटन समारोहलाई संवोधन गर्दै नेता पोखरेरलले चितवन जिल्लामा पहिलो पटक दलित पत्रकारहरु संगठित भएको भन्दै खुसी ब्यक्त गरे । उनले देशै भरि दलित पत्रकारहरु संगठित हुँदै जाने हो भने कोही पनि दलितले जातीय बिभेद खेप्नु नपर्ने बताए । उनले भने,- “दलितलाई जातीय आधारमा बिभेद गर्नु जस्तो अमानवीय र निकृष्ट ब्यवहार अरु केही हुदैँन, अव दलित समुदायको चेतनास्तर धेरै माथि उठिसक्यो । आफ्नो पीडा आफै लेख्न सक्ने भएका दलितहरु कसैले पनि बिभेद गर्न सक्दैन ।”
दलितलाई एक पटक घर-जग्गा उपलब्ध गराइने भनेर संबिधानमा उल्लेख गरिए पनि त्यो ब्यवहारमा कार्यान्वयन नभएको प्रसंग उल्लेख गर्दै नेता पोखरेलले त्यता तर्फ पनि दलित पत्रकारहरु सजग हुनु पर्ने बताए । उनले दलित पत्रकार संघको नव निर्मित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
उद्घाटन समारोहलाई संवोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीले संबिधानमा दलितका अधिकार सुनिश्चित भए पनि ब्यवहारतः दलितहरु अहिले पनि अमानवीय जीवन जीउन बाध्य परिएको बताए । दलितहरु अहिले पनि सुचना बिहिन भएको भन्दै उनले थपे, “दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफैले उठाउनुपर्छ, त्यसैले पनि संगठनको आवश्यकता महसुस गरी दलित पत्रकारहरुको संगठन स्थापना गरिएका हौँ ।”

अध्यक्ष पहाडीले दलित पत्रकारहरु संगठित भएर आफ्नो समुदायको हितमा काम गर्नु पर्ने आवश्यकता औल्याए । उनले भने, “ दलितहरु ऐतिहासिक कलाकार, तथा संसारका रचनाकार हुन् तर, उनै समुदायलाई पछाडी पारिनु बिडम्वना हो, त्यसैले दलित समुदायको मुक्तिका लागि दलित पत्रकारहरु संगठित भएर आफ्नो समुदायको पक्षमा आवाज उठाउनु पर्छ ।”
उनले दलित पत्रकारहरुको जीवन बिमा, तालिम र प्रत्येक संचार माध्यममा इज्जत प्रतिष्ठाका साथ ससम्मान काम गर्ने वातावरण सिर्जना गरिनुका साथै उत्कृष्ट समाचार लेख्ने दलित पत्रकारका लागि प्रत्येक वर्ष पुरस्कारको ब्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी दान प्रसाद भट्टराईले परिवर्तनको सुरुवात आफैबाट हुनु पर्ने र समाज परिवर्तनका लागि दलित पत्रकारहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए ।
कार्यत्रममा युवा उद्यमी अर्जुन रसाइली, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, सदस्य बुद्धि बिश्वकर्मा, दलित पत्रकार संघ ३ नम्बर प्रदेशका अध्यक्ष चित्र मिजार लगायतले दलित पत्रकारहरुको नव निर्मित संगठनलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा दलित पत्रकार, अधिकारकर्मी, बुद्धिजिबी तथा केन्द्रिय र स्थानीय प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।





