काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम राख्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको सचिवलय बैठकले प्रदेश कमिटी तथा प्रदेशसभा दललाई प्रदेशको नाम र राजधानी कायम गर्न निर्देशन दिने निर्णय गरेको हो ।
प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताए । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।
राजधानी काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।